Friday, 25, September, 2020 info@saipalnews.com

महिलाले पुरुष पछार्ने होइन् : कोमल वली

काठमाडौं २५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की नेतृ तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले महिलाहरुले आफ्नो अधिकारलाई अनुभूत गर्नुपर्नेमा जोड दिनुभएको छ ।संयुक्त राष्ट्रसंघले पनि महिला अधिकारलाई अनुभूत गर्नसक्ने पुस्ता भनेर नारा दिएको चर्चा गर्दै उहाँले नेपालमा मात्र नभई विश्वव्यापी रुपमा पनि यही कुरा लागू हुने बताउनुभयो ।

११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले महिलालाई अधिकार दिइए कहीँ कतैपनि पछि पर्दैनन् भन्ने कुरा पुष्टि भैसकेको बताउदै भन्नुभयो, ‘नेपालको हकमा त यो कुरा प्रमाणित भैसकेको छ । त्रिभूवन विश्वविद्यालयका हरेक संकायमा बहुसंख्यक महिलाले टप गरिरहेका छन् । वर्षेनी दशौं हजार दीक्षित भएका छन् । तर, अवसर लिने ठाउँमा उनीहरु त्यति देखिँदैनन् ।’उहाँले समानताको हक र अधिकारमात्रै नभएर अवसर पनि प्राप्त गर्न महिला अग्रसर हुनुपर्ने बताउनुभयो ।

कानूनमा बनेका कुराहरु व्यवहारमा लागु हुनुपर्ने पनि धारणा राख्दै नेतृ वलीले भन्नुभयो, ‘हामीले आफूलाई पुरुषसँग दाज्नुहुँदैन् । यो पुरुष पछार्ने कुरा पनि होइन । हामीले आफूले आफैंलाई जित्नुपर्छ । नारीसँग त कसैको तुलना नै हुँदैन् । नारी यो धर्तीको सुन्दर सृष्टिकर्ता हो । जो अरुले गर्न सक्दैन् । नारी तुलनात्मक रुपमा पनि शक्तिशाली हो ।’उहाँले अवसर पाउने महिलाहरुले अरुको लागि काम गर्नुपर्ने बताउँदै आफ्नो भूमिकाको बारेमा पनि समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले नेपालको संघीय संसदको संरचना र महिला सहभागिताको विषय उल्लेख गर्दै दक्षिण एशियामै नेपाल पहिलो स्थानमा र विश्वमा ४८औं स्थानमा रहेको दाबी गर्नुभयो ।नेपालको सामाजिक, सांस्कृतिक परम्परा पनि नारीलाई सम्मान गर्ने खालको भएको सुनाउँदै आफ्नो पार्टीमा महिला सांसद तथा नेतृहरुलाई अत्यन्तै आदर गर्ने गरिएको दृष्टान्त पनि सांसद वलीले सुनाउनु भयो ।