Saturday, 05, December, 2020 info@saipalnews.com

रोकिएन चन्द समूहको आतंक

काठमाडौँ २९ फागुन । सरकारले गतिविधिमा प्रतिबन्ध लगाएको एक वर्ष पुगेकै दिन बुधबार बिहान चन्द समूहले सत्तारूढ नेकपाका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको छ । चन्द समूहले यसरी विध्वंसकारी गतिविधिलाई निरन्तरता दिइरहे पनि सरकारले वार्ताका लागि पहल पनि गरिरहेको छ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा विस्फोटले भएको क्षति ।

सरकारले एक वर्षअघि नै चन्द समूहसँग वार्ताको वातावरण मिलाउन नेकपाका सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेर जिम्मेवारी दिएको थियो । तर चन्द समूहले पक्राउ परेका सबै नेता–कार्यकर्ता रिहाइ हुनुपर्ने पूर्वसर्त राखेपछि वार्ता हुन सकेन । अहिले उनै पाण्डेमार्फत वार्ताको पहल भइरहेको स्रोतले जनाएको छ ।

पाण्डेले एक महिनाअघि मात्र चन्द समूहका केन्द्रीय सदस्य अनिल शर्मा र दसैंअघि सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई भेटेको स्रोतको भनाइ छ । बाँस्तोला चन्द समूहका पाँच सचिवालय सदस्यमध्ये एक तथा पश्चिम कमान्ड इन्चार्ज हुन् । स्रोतका अनुसार केही महिनायता चन्द समूह र सरकारले खटाएको प्रतिनिधिबीच तीन चरणमा अनौपचारिक कुराकानी भएको छ । तर दुवै पक्षले यसलाई औपचारिक रूपमा बाहिर ल्याउन चाहेका छैनन् ।