Wednesday, 22, September, 2021 info@saipalnews.com

कालापानीबाट भारतीय सेना हटाउने प्रस्ताव आज पेश हुने

काठमाडौँ२९ फागुन । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुने भएको छ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ । यसअघि अघिल्लो बैठकमै पेश गरिने कार्यसूची रहे पनि समय अभावका कारण त्यस दिन पेश हुने सकेन र आजका लागि सारिएको थियो ।

भारतले दार्चुलाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी नयाँ नक्सा प्रकाशित गरेपछि बसेको सर्वदलीय बैठकले पनि नेपाली भूभाग अतिक्रमण हुनबाट रोक्न सरकारलाई निर्देशन दिएको थियो । साथै कुटनीतिक र अन्य पहलकदमी गरी अतिक्रमित क्षेत्र नेपाली भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन सरकारको ध्यानाकर्षण गराइएको थियो ।

आजको प्रतिनिधिसभा बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेश हुने भएको छ । यसैगरी ‘कारागार विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने विधेयक प्रस्ताव पनि आजको बैठकको कार्यसूचीमा राखिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले अन्तरदेशीय संगठित अपराध महासन्धी अन्तर्गतको पालेर्मो अभिसन्धि पनि अनुमोदनका लागि पेश गरिने संसद सचिवालयले जनाएको छ ।यसैगरी राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।