Wednesday, 02, December, 2020 info@saipalnews.com

कालापानीबाट भारतीय सेना हटाउन माग

काठमाडौं ३० फागुन । सत्तासीन दलकै सांसदले नेपाली भूमि रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्तावमा छलफल गर्न सरकार तयार नभएपछि उनीहरूले भूमि रक्षा गर्न माग गरेका हुन्। नेकपा सांसद खगराज अधिकारीले प्रतिनिधिसभामा चार महिनाअघि कालापानीबाट भारतीय सेना हटाउने र नेपाली अतिक्रमित भूमि फिर्तासम्बन्धी संकल्प प्रस्ताव दर्ता गरेका थिए।

प्रस्तावमाथि बिहीबारको बैठकमा छलफल हुने कार्यसूची थियो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समय मागेपछि संकल्प प्रस्तावमाथिको छलफलको एजेन्डा कार्यसूचीबाट हटाइएको थियो।

नेकपा सांसद अधिकारीले ‘अन्तिम समय’ मा आफ्नो प्रस्ताव हटाइएकोमा असन्तुष्टि जनाए। ‘मैले त सभामुखबाट छलफल नहुने जानकारी पाएँ,’ अधिकारीले अन्नपूर्णसँग भने,‘सरकारले किन छलफल गर्न चाहेन भन्ने जानकारी भएन।’ संकल्प प्रस्तावमाथि छलफल नभए पनि सांसद अधिकारीले विशेष समय लिएर बोल्दै आफ्नो प्रस्तावबारे सदनको ध्यानाकर्षण गराए।

‘मेरो प्रस्तावले भारतलाई वार्ता गर्न दबाब पुग्ने र नेपाल सरकारलाई सहयोग पुग्ने विश्वास लिएको छु’, अधिकारीले भने, ‘नेपालले कूटनीतिक नोट पठाइसकेको तर भारतले जवाफ नदिएको अवस्था छ। प्रस्तावले वार्ताका लागि सहयोग पुग्ने विश्वास छ। यो समाचार अन्नपुर्णपोष्टमा छ ।