Sunday, 06, December, 2020 info@saipalnews.com

परीक्षा रोकेर विद्यालय व्यवस्थापन चुनावमा

सिरहा ३० फागुन । सिरहाको औरही गाउँपालिका–५ स्थित सुन्दर जनता माविमा शुक्रबार संसदीय निर्वाचनको झल्को दिनेगरी अभिभावक मतदान गर्न आतुर थिए । हातमा रातो र निलो चिटसहित नागरिकता बोकेर भोट हाल्न युवादेखि वृद्धवृद्धा अभिभावकले विद्यालय व्यावस्थापन समिति पदाधिकारी छान्न लामो लाइन बसेर मतदान गरे ।

सिरहाको औरही गाउँपालिका ५ स्थित सुन्दर माविको विद्यालय व्यवस्थापन समिति सदस्य चयनका लागि शुक्रबार भएको निर्वाचनमा भोट हाल्न लाईनमा बसेकी ६४ वर्षीया सोनवती ठाकुर । तस्बिरहरु स् भरत जर्घामगररकान्तिपुर

विद्यालयको प्रांगणमा सदाझैं कापी, कलम बोकेका विद्यार्थी नभई प्रहरीको बाक्लो तैनाथी र अभिभावकबीच भीडको दृश्यले सुन्दर विद्यालयको स्वरुप नै अर्कै भएको थियो। २०७२ सालदेखि रिक्त रहेको विद्यालय व्यवस्थापन समिति पदपूर्तिका लागि शुक्रबार विद्यालयमा चुनावी प्रतिस्पर्धा भएको थियो। बुधबारदेखि सुरु भएको वार्षिक परीक्षा रोकेर विद्यालयमा चुनाव भएको हो।

शुक्रबार कक्षा ८ को नेपाली र विज्ञान विषयको परीक्षा थियो। तर समिति चयन गर्नुपर्ने भएकाले परीक्षा रोकेर पदाधिकारी चयनका लागि महत्वपूर्ण सूचीमा राखेर निर्वाचन गरिएको थियो। विद्यालय व्यवस्थापन समितिको पदाधिकारी चयनका लागि बाध्य भएर चुनाव गराउनु परेको प्रधानाध्यापक इन्द्रदेव यादव बताए। ‘शुक्रबार रोकिएको परीक्षा चैत ६ गते गराउने छौं,’ प्रधानाध्यापक यादवले भने, ‘सहमतिमा पटकपटक समिति चयन प्रयास विफल भएपछि चार वर्षको अन्तरालमा चुनावी प्रतिस्पर्धाबाट सदस्य चयन गर्दैछौं।’

भोट हाल्न लामवद्ध मतदाता

व्यवस्थापन समितिका लागि १ हजार १ सय ४२ अभिभावकको मतदाता सूची थियो। समितिका चार सदस्य पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा थिए। वि।सं १९९० सालमा स्थापित उक्त विद्यालयमा समिति चयनका लागि चुनावी प्रक्रियामा जानु परेको विद्यालयका लागि पहिलो घटना हो। कक्षा १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा १ हजार ५ सय ४६ विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीका अभिभावक मतदाता हुने व्यवस्था छ।

विद्यालय व्यवस्थापन समिति सदस्य पदका लागि औरही–५ की देवझरी यादव समेत उम्मेदवार छिन्। उनी गत स्थानीय निर्वाचनमा औरही गाउँपालिकामा माओवादी केन्द्रबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी थिइन्। उनी समाजवादी पार्टीकी सीता कुमारी यादवसित पराजित भएकी थिइन्।

देवझरी यादव जस्तै स्थानीय तहको निर्वाचनमा वडा नं ५ का वाट समाजवादी पार्टीवाट वडाध्यक्षका उम्मेदवार नवलकिशोर यादव समेत प्रत्यासी छन्। स्थानीय चुनावमा उनी माओवादी केन्द्रका दिलिप कुमार यादवसँग पराजित भएका थिए। उनी समेत विद्यालय व्यवस्थापन समिति सदस्यमा प्रतिस्पर्धी छन्।

विद्यालय व्यावस्थापन समितिका लागि प्रतिस्पर्धी उम्मेदवारले ‘दलको तर्फबाट उम्मेदवार बनेको’ समेत बताए। विद्यालयको शैक्षिक सुधारका लागि उम्मेदवारी दिएको दाबी गर्दै भोट मागे। समितिको निर्बाचनमा १३ उम्मेदवारमध्ये अरुण कुमार यादव, शान्ति कुमारी रजक, देव अवतार यादव, हेमा कुमारी यादव नेकपाबाट प्यानल उम्मेदवार भएको दाबी गर्छन।

अन्य उम्मेदवार रमण कुमार यादव, देवझरी यादव, कवितादेवी यादव, मुक्ति यादव आफूहरु कांग्रेस र समाजवादी पार्टीको साझा उम्मेदवार भएको बताए। ‘आफू कांँग्रेस र समाजवादी गठबन्धनबाट उम्मेदवार बनेकी हुँ,’ कवितादेवीले भनिन्। स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा पराजित भएपछि समाजवादी पार्टी प्रवेश गरेकी देवझरी यादवले आफू पनि काँंग्रेस, समाजवादी गठबन्धनबाट उम्मेदवार बनेकी बताइन्।

वडाध्यक्षमा पराजित समाजवादीका नवल किशोर यादव र कांग्रेसका विशेश्वर यादवले व्यवस्थापन समितिका लागि स्वतन्त्र उम्मेदवार भएको बताए। ती दुवैले आफूहरु विद्यालयको शैक्षिक, भौतिक सुधारका लागि उम्मेदवारी दिएको बताए। समिति सदस्यकी उम्मेदवार रिंकु कुमारी यादवले समाजवादी पार्टीले आफूलाई पहिला उम्मेदवारी घोषणा गरेर अहिले धोका दिएको गुनासो पोखिन।

गाउँपालिका अध्यक्ष यादवले समिति चयनमा पटक पटक सहमतिको प्रयास भएपनि विफल भएपछि चुनावी प्रक्रियामा गएको बताए। भोट हाल्न आएका कतिपयलाई भने के को भोट भइरहेको समेत जानकारी थिएन। भोट खसाउन लाममा बसेकी ६४ वर्षीया सोनवती ठाकुरले आफूलाई के को भोट भन्ने पनि जानकारी नभएको सुनाइन। उनका छोरा शिवसुन्दर कक्षा ८ मा अध्ययनरत छन्।

कक्षा १ देखि १२ सम्म पढाई हुने विद्यालयमा कक्षागत शिक्षक समेत अभाव छ। कक्षा १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा १ हजार ५ सय ४६ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा प्रअ इन्द्रदेव यादवसहित १४ जना शिक्षक कार्यरत छन्। माध्यमिक शिक्षकतर्फ विवेक कुमार यादव, अंकुल थापा र राहतमा कपिलदेव यादव कार्यरत छन। त्यसैगरी राहतसहित निमावितर्फ ४ र ६ जना प्राथमिक शिक्षक कार्यरत छन्।

‘कक्षागत शिक्षक समेत अपुग छ, विषयगत शिक्षकको कुरै नगरौं,’ प्रधानाध्यापक इन्द्रदेव यादवले भने, ‘पालो लगाएर यही जनशक्तिबाट जसोतसो धानेका छौं, गुणस्तरीय शिक्षाका लागि अभिभावकको ध्यान जानुपर्ने हो त्यो हुन सकेको छैन।’ विद्यालयमा शौचालय, खानेपानीको पर्याप्त सुविधा छैन। भौतिक पूर्वाधार समेत पर्याप्त छैनन्। पुरानो विद्यालय भएपनि वाउण्ड्री ठाउँ ठाउँमा भत्किएको छ। यो समाचार कान्तिपुर दैनिकमा छ ।