Sunday, 06, December, 2020 info@saipalnews.com

कोरोना भाइरसले जगाउला त सार्कको सान ?

काठमाडौँ १ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक ट्विट गर्दै दक्षिण एसियाली सहयोग संगठन सार्क का नेताहरुसमक्ष कोरोना संक्रमण कोभिड–१९ सँग लड्न बलियो रणनीतिक योजना बनाउने प्रस्ताव अघि सारेका छन्। भारत र पाकिस्तानबीचको खिचातानीले सार्क निष्क्रिय बनेका बेला मोदीले राखेको प्रस्तावले संकटका बीच यो क्षेत्रीय संगठनले पुनर्जीवन पाउने आशा पलाएको छ। चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को प्रकोप भारतसहित विश्वभर तीव्र गतिमा फैलिँदैछ।

भारतीय प्रधानमन्त्री मोदीले सार्क मुलुकका नागरिकलाई स्वस्थ राख्ने विषयमा यस संगठनका सदस्य मुलुकका नेताहरुसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने जनाएका छन्। उनले स्वस्थ पृथ्वीका लागि योगदान दिएर विश्वमै उदाहरण पेस गर्न सकिने उल्लेख गरेका छन्।

सार्कको वर्तमान अध्यक्ष नेपालसहित अन्य सदस्य मुलुकले मोदीको प्रस्तावको स्वागत गरेका छन्। अध्यक्ष राष्ट्रका तर्फबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटमार्फत मोदीको प्रस्तावको स्वागत गरेका छन्। ओलीले कोरोनाबाट आफ्ना नागरिकको सुरक्षा गर्न सार्क मुलुकहरुसँग निकट रहेर काम गर्न नेपाल सरकार तयार रहेको बताएका छन्।

भुटानका प्रधानमन्त्री लोट्य छिरिङले पनि मोदीको प्रस्तावको स्वागत गरेका छन्। उनले ट्विटरमार्फत सदस्य मुलुकका हिसाबले यस्तो समयमा सबै एकै ठाउँमा आउनै पर्ने बताएका छन्। उनले मोदीको नेतृत्वमा तत्कालै प्रभावकारी नतिजा प्राप्त हुने दाबी गरेका छन्। उनले भिडियो कन्फरेन्सको पर्खाइमा रहेको पनि बताएका छन्। यो खबर आजको नागरिक दैनिकमा छ ।