Saturday, 05, December, 2020 info@saipalnews.com

विद्यालयमा थपिँदै शरणार्थी विद्यार्थी, शिक्षक दरबन्दीको टुंगो छैन

झापा १ चैत । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय युएनएचसिआरले झापामा रहेका शरणार्थी बालबालिकाको शिक्षा सामुदायिक विद्यालयमा गराउने भएको छ।युएनएचसिआरले सन् २०२० को जुनदेखि सबै कार्यक्रम बन्द गर्दै छ। सहायता बन्द भएपछि दमक नगरपालिकालाई विद्यार्थी हस्तान्तरण गरिएको हो।

अब दमकको ढुकुरपानी मावि र चुलाचुली आधारभूत विद्यालयमा शरणार्थी विद्यार्थी पढ्ने छन्। त्यसका लागि युएनएचसिआरको सहयोगमा लुथरन विश्व फेडेरेसनले दुवै विद्यालयमा पक्की भवन बनाइदिएको छ। दुवै भवनको युएनएचसिआरकी नेपाल प्रमुख क्यारोलिन स्पोनित वर्मा र दमक नगरपालिकाप्रमुख रोमनाथ ओलीले उद्घाटन गरे। चुलाचुली आधारभूत विद्यालय भवन ६८ लाख ८१ हजार र ढुकुरपानी मावि भवन एक करोड २४ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। ती विद्यालयमा एक देखि १२ सम्म पढ्ने विद्यार्थीले अध्ययन गर्नेछन्।

ढुकुरपानी माविका प्रधानाध्यापक कृष्ण भण्डारीले शिक्षकको व्यवस्थापन नभएसम्म विद्यार्थी अध्ययन गराउन नसक्ने बताए। ‘थपिएका विद्यार्थीका लागि अहिले विद्यालयमा भएको जनशक्ति अपर्याप्त छ,’ उनले भने, ‘त्यसका लागि दातृनिकाय र नगरपालिकाले ध्यान दिनुपर्नेछ, नभए अहिलेकै जनशक्तिले काम गर्न सक्ने अवस्था छैन।’ यो खबर आजको नागरिक दैनिकमा छ ।