Wednesday, 02, December, 2020 info@saipalnews.com

सरकारले पर्यटकीय गतिविधिमा रोक लगाएपछि १५ वटा विदेशी पाइलटको बिदाइ

काठमाडौं १ चैत । सरकारले यस पटकको वसन्तकालीन हिमाल आरोहणलगायतका पर्यटकीय गतिविधिमा रोक लगाएपछि नेपाली हेलिकप्टर कम्पनीहरूले विदेशी पाइलटलाई बिदाइ गरेका छन् ।चार्टर उडान घटेपछि १५ वटा हेलिकप्टर ग्राउन्डेड गरिएको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यो सिजनका लागि राखिएका १५ जना विदेशी पाइलटलाई बिदाइ गरिएको छ ।

नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनीका ३३ वटा हेलिकप्टर छन् । तिनले नेपालमा पर्याप्त दक्ष पाइलट नभएकाले पर्यटकीय सिजनमा मासिक ६ लाखसम्म तलब दिएर विदेशी पाइलट ल्याउने गर्छन् । कतिपय एयरलाइन्सले वर्षैभरि विदेशी पाइलट राख्दै आएका छन् । हेलिकप्टर चार्टर उडान घटेपछि १५ वटा हेलिकप्टर ग्राउन्डेड गरिएको कँडेलले बताए ।

केही कम्पनीले कर्मचारी कटौती पनि थालेका छन् । करोडौं लगानी गरेका व्यवसायीहरूले खर्च कटौती गर्न शनिबार विदेशी बिमा कम्पनीका प्रतिनिधिसँग काठमाडौंमा छलफल गर्दैछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।