Sunday, 06, December, 2020 info@saipalnews.com

भारतले ४ देशका २० नाका बन्द गर्दै

काठमाडौँ १ चैत । कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएसँगै जोखिम न्यूनीकरण गर्न भारतले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनद्वारा जारी सूचनामा नेपालीहरुको आवतजावत प्रभावित नहुने स्पष्ट पारेको छ ।

भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरुको आवागमन बन्द गर्न लागेको हो ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका नेतृत्वबीच कोरोना नियन्त्रणका लागि कठोर रणनीति तय गर्न सहकार्य गर्नुपर्ने धारणा सार्वजनिक गरेकै दिन भारतले नेपाली र भुटानी नागरिकबाहेकका लागि सबै सीमानाका बन्द गरेको हो ।

नेपालसँग जोडिएका भारतको उत्तराखण्डका बनबासा, उत्तर प्रदेशको सुनौली, विहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट अनिश्चितकालका लागि तेस्रो मुलुकका यात्रु ओहोरदोहोर बन्द गरिने उल्लेख छ ।भारतीय कूटनीतिक स्रोतका अनुसार नेपालबाट भारत जाने तेस्रो मुलुकका यात्रुलाई मात्र बन्देज लगाइएको हो । नेपाली नागरिकका हकमा भने यसले फरक पार्दैन ।