चैत्र १ धनगढी । आर्थिक चलखेलमा नाम कमाएका कैलालीका डिएसपी दक्ष बस्नेतले धनगढीका भीआइपी जुवाडेलाई अस्पताल बस्ने व्यवस्था मिलाएका छन् । नवजीवन जस्तो प्रतिष्ठित सहकारीका महाप्रवन्धक भइसकेका मोहन भट्ट र अर्का ठेकेदार लालबहादुर वमलाई बस्नेतले सेती प्रादेशिक अस्पतालमा बस्ने व्यवस्था मिलाएका हुन । भट्ट धनगढीको एक क्याम्पसका क्याम्पस प्रमुख समेत भइसकेका व्यक्ती हुन । यस्तो पढेलेखेको व्यक्ती सार्वजनिक विदा समेत नभएको दिन नै जुवाडी भएपछि अरुको के हाल हुन्छ धनगढीमा अहिले चर्चा छ ।
स्थानीय पत्रपत्रिकामा समाचार लेख्न रोकेका भट्ट र वमले प्रहरीलाई मिलाएर अस्पताल बस्ने व्यवस्था मिलाएका हुन । उनीहरुले डिएसपी बस्नेतलाई मिलाएका हुन । भट्ट र वम सहितको टोली शुक्रबार लाखौ रुपैयाँसहित धनगढीमा जुवाको खालबाट समातिएका थिए । उनीहरुसंगैका सामान्य अरु जुवाडेहरु भने जिल्ला प्रहरीमै हावा खाइरहेका छन् ।
डिएसपी बस्नेत सबैलाई शुक्रबार नै छोड्ने तयारीमा थिए तर साइपाल अनलाइनले खोजीखवरी गरेपछि उनीहरुलाई छोड्न सकेनन् ।
डिएसपी बस्नेतले यसअघि पनि सगोत्री भन्दै दुस्यन्त बस्नेत नामका व्यापारीलाई अस्पताल बस्ने व्यवस्था मिलाएका थिए । ती व्यसायीले औषधिका टेन्डर पार्न सरकारी कार्यालयका नक्कली छाप बनाएका थिए ।