Wednesday, 19, January, 2022 info@saipalnews.com

मानसिक बिमारीबारे नेपाली वैज्ञानिकलाई नयाँ सफलता

काठमाडौँ २ चैत । मस्तिष्कमा हुने विभिन्न रासायनिक तत्वहरूको सन्तुलन बिग्रेर स्किजोफ्रेनियाको बिमारी लाग्ने गर्छ । यो एक प्रकारको मानसिक बिमारी हो । यसको विपरीत यसलाई मानिसहरू एक प्रकारको ‘पागलपन वा बहुलाहापन’ हो भनेर बुझ्छन्, जसका आधारमा अन्धविश्वासपूर्ण उपचारपद्धति र बिरामीलाई हेलाँ गर्ने चलन नेपाली समाजमा छ ।

नेपाली चिकित्सक सहितको एक टोलीले स्किजोफ्रेनियामध्ये दोस्रो प्रकारको बिमारीको पत्ता लगाएका छन् । अमेरिकाको प्रतिष्ठित पेन्सल्भेनिया विश्वविद्यालयस्थित रेडियोलोजी विभागका नेपाली वैज्ञानिक डा:गणेश चन्दसहित अमेरिकाका अन्य विश्वविद्यालयका अनुसन्धानकर्ताले दोस्रो प्रकारको स्बिजोफ्रेनिया पत्ता लगाएका हुन् ।

यो स्किजोफ्रेनिया अनुसन्धानको इतिहासमा पहिलो र ठूलो उपलब्धि मानिएको छ किनभने विगतका अनुसन्धानहरूले सबै स्किजोफ्रेनिया बिरामीहरूलाई एकल प्रकारमा राख्थे र उपचारहरू असफल रहेका छन् । मानव मस्तिष्क सम्बन्धित विश्वको प्रसिद्ध ब्रेन जर्नलमा प्रकाशित नयाँ यस आविष्कारका बारेमा आलेखअनुसार अनुसन्धानकर्ताहरूले एमआरआई र मेसिनबाट सिकाइका विधिहरू प्रयोग गरेका थिए ।

डा:गणेश चन्दका अनुसार अध्ययनले स्किजोफ्रेनिया बिरामीहरूमा दुई अलग प्रकारका मस्तिष्क परिवर्तनहरू भेटिएको थियो । पहिलो प्रकारका बिरामीहरूमा मस्तिष्कको खैरो पदार्थ र सेतो पदार्थको मात्रामा कमी थियो ।

दोस्रो प्रकारका बिरामीमा बेसल ग्याङ्ग्लिया र आन्तरिक क्याप्सुल मस्तिष्क खण्डहरू बढेको अवस्था पाइएको थियो । यस प्रकारमा बिरामीहरूको बाँकी मस्तिष्क संरचनाहरू स्वस्थ मानिसहरूको जस्तै पाइएको थियो ।