Friday, 27, November, 2020 info@saipalnews.com

चैत ६ गतेबाट हुने एसईईमा ७९ विषयको परीक्षा हुने

काठमाडौँ ३ चैन । आशन्‍न माध्यमिक शिक्षा परीक्षा एसईईमा सबैभन्दा थोरै भोट भाषामा ७ र गृह विज्ञानमा ८ जना परीक्षार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले साधारण धार र संस्कृत धारका कक्षा १० मा पठनपाठन हुने ४९ विषयको प्रश्‍नपत्र निर्माण गरेको छ ।

त्यसैगरी प्राविधिक धारको ३० विषयको प्रश्‍नपत्र निर्माण गरेको छ।यही चैत ६ गतेबाट हुने एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुनेछन्। प्रत्येक विद्यार्थीले ६ अनिवार्य र दुई ऐच्छिक गरी ८ विषयको परीक्षा दिनेछन्।

विद्यार्थीले अनिवार्य विषय अन्तर्गत नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र स्वाथ्य, जनसंख्या तथा वातावरण शिक्षा जाँच दिनेछन्। साधारण धारतर्फ अनिवार्य विषयको परीक्षार्थी ४ लाख ८० हजार ७ सय ७ जना छन्। ऐच्छिक विषय रोज्नेमध्ये सबैभन्दा थोरै भोट भाषा र गृहविज्ञान विषयमा देखिएका छन्।

सबैभन्दा धेरैले विद्यार्थीको रोजाइमा अर्थशास्त्र परेको छ। जसमा २ लाख ३६ हजार ३ सय ५५ परीक्षार्थी छन्। दोस्रोमा १ लाख ७४ हजार ६ सय ६१ जनाले ‘अफिस म्यानेजमेन्ट एण्ड एकाउन्ट’को जाँच दिदैछन्। तेस्रो रोजाइमा ‘एडिसनल म्याथमेटिक्स’ परेको छ। उक्त विषयमा १ लाख ५४ हजार ५ सय ७२ परीक्षार्थी छन्। त्यसपछि ‘शिक्षा’ विषयमा १ लाख २० हजार ५ सय ९७ परीक्षार्थी छन्। ८५ हजार २ सयले ‘कम्प्युटर साइन्स’ र ५७ हजार ५ सय ७१ ले ‘स्वास्थ्य तथा शारीरिक शिक्षा’ को जाँच दिंदैछन्।

यसो त ऐच्छिक प्रथमका रुपमा रहेका भाषाहरूमा नेवारीमा १४, नेपालीमा ४०, उर्दूमा ३२, टिबेटेनमा १ सय १७, मैथिलीमा ५ सय ८६ र अंग्रेजीमा ६ सय ११ जना परीक्षार्थी छन्। त्यस्तै, बुद्ध शिक्षा विषयमा १५ जनामात्र छन्। संगीत र खाद्यविज्ञान विषयको परीक्षार्थी ४९र४९ जना छन् भने वातावरण विज्ञानमा ९१ जना छन्।

संस्कृतमा घट्दो

शिक्षा अधिकारीका अनुसार संस्कृति शिक्षामा विद्यार्थी संख्या घटेका छन्। ऐच्छिक प्रथम सामवेदमा १० जना र द्वितीय ज्योतिषशास्त्रमा २८ परीक्षार्थी छन्। ‘न्याय’ विषयमा ४६, ‘आयुर्वेद’मा १ सय १ र ‘शुक्ल यजुर्वेद’मा १ सय ५ जनाले जाँच दिंदैछन्। ‘साहित्य’ रोज्ने २ सय २४ छन्। ‘संस्कृततर्फ विद्यार्थी घट्दो छ,’ उपनियन्त्रक चेतनाथ शर्माले भने।                    प्राविधिकमा ३० विषय

प्राविधिक धारतर्फ ३६ मध्ये ३० वटा विषयको परीक्षा हुनेछ। प्राविधिक धारतर्फ कृषि, पशु विज्ञान, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल, कम्प्युटर र संगीत रहेका छन्। एउटा धारमा ६ विषय हुन्छन्। यो वर्ष संगीततर्फ विद्यार्थी छैनन्। त्यसमध्ये संगीत विषयतर्फ विद्यार्थी नरहेकाले परीक्षा हुन नसकेको उपनियन्त्रक चेतनाथ शर्माले बताए।

विषय महत्वका हिसाबले समान छन्। विषयगत प्रश्नपत्र निर्माण प्रक्रिया र लागत उत्तिकै बराबरी रहन्छ। ‘एक जना वा लाख जना परीक्षार्थीको निम्ति एउटा प्रश्नपत्र बनाउँने प्रक्रिया एउटै हो,’ परीक्षा उपनियन्त्रक चेतनाथ शर्मा भन्छन्, ‘मिहिनेतका साथ सबै प्रक्रिया पुर्‍याएर प्रश्नपत्र निर्माण गरिएका छन्। तर कतिपय विषयमा विद्यार्थी ज्यादै कम छन्।’

विषयविज्ञले प्रश्नपत्र निर्माणमा गर्दछन्। नियन्त्रण कार्यालयले पाठ्यक्रम तथा पाठ्यपुस्तकअनुसार विषय छनोट, प्रश्न निर्माण, वर्गीकरण, टंकण, रुजु, डिजाइन, मुद्रण, प्याकिङ गरी सम्बन्धित परीक्षा केन्द्रसम्म ढुवानी गर्दछ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले यो वर्षको एसईईका निम्ति ५१ लाख थान प्रश्नपत्र छपाई गरेको बताए। ‘एसईई प्रश्नपत्र निर्माण छपाई लागत २ करोड रुपैयाँ लागत लागेको छ,’ नियन्त्रक खकुरेलले भने, ‘प्रश्नपत्र निर्माणमा विषयविज्ञहरू जुटाउँदा २० लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ। यो समाचार कान्तिपुरबाट साभार गरिएको हो ।