Thursday, 27, January, 2022 info@saipalnews.com

अमेरिकामा आपतकाल लम्बिने, १० जना भन्दा बढी जम्मा नहुन निर्देशन

काठमाडौँ ४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण लागु भएको आपतकालीन अवस्था ग्रिष्म ऋतुको अन्त्यसम्म वा त्यो भन्दा पछि पनि जारी रहन सक्ने बताएका छन् ।

उनले अमेरिकीहरुलाई सार्वजनिक कार्यक्रम वा भेलाहरुमा सहभागी हुनबाट थप बन्देज गर्न आग्रह गरेका छन् । अबको १५ दिनसम्म १० जना भन्दा बढीको समूहमा उपस्थित नहुन तथा बार, रेस्टुरेन्ट, खाद्य स्टल, जिम तथा अरु भिडभाडका स्थानहरुमा नजान आग्रह गरेका हुन् ।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अमेरिकासहित विश्वका अधिकांश देशले अहिले अति नै संक्रामक अदृश्य शत्रुको सामना गरिरहेको बताए ।अमेरिकामा अहिलेसम्म चार हजार ६ सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म अमेरिकामा ८५ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म एक लाख ८० हजार भन्दा बढीमा संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या सात हजार एक सय भन्दा बढी छ ।कोरोना भाइरस विरुद्ध ट्रम्पले गरेको नयाँ घोषणा अनुसार पाको उमेरका व्यक्तिले घरबाटै काम गर्नु पर्ने तथा स्कूलका गतिविधिहरु पनि घरबाटै हुनु पर्ने उल्लेख छ ।