Saturday, 18, September, 2021 info@saipalnews.com

इम्वोष्ड नम्वर प्लेट केही दिन भित्रै बाँड्ने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले प्रदेशहरुसँग समन्वय गर्दै इम्बोस्ड नम्बर प्लेट छाप्ने काम अघि बढाउन पहल गरिरहेको छ । विभागले अबको केही दिन भित्रै नम्बर प्लेट छाप्न सुरु गर्ने जानकारी दिएको हो ।अब शुरुमा इम्बोस्ड नम्बर प्लेट सरकारी सवारीसाधनमा अनिवार्य गरिने र त्यसपछि विस्तारै निजी कार तथा मोटरसाइकलमा अनिवार्य हुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए ।

विभागले इम्बोष्ड नम्बर प्लेट वापतको कर कसले उठाउने भन्ने बारे निष्कर्ष निस्किएपछि छपाई सुरु हुने जनाएको छ । इम्बोस्ड नम्बर प्लेट प्रिन्टका लागि आवश्यक तयारी भने विभागले पुरागरेको जनाएको छ ।गत मंसिर २७ मा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो । प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले हालेको उक्त रिट खारेज गर्ने निर्णय गरेका थियो ।

अदालतमा परेको रिट खारेज भएको ३ महिना पछि विभागले इम्बोस्ड नम्बर प्रिन्ट सुरु गर्ने अन्तिम तयारी गरेको हो ।सरकारले इम्बोस्ड नम्बर प्लेट प्रिन्ट गर्ने ठेक्का बंगलादेश र अमेरिकाको ज्वाइन्ट भेन्चर कम्पनी डेकाटुर टाइगरलाई दिएको छ । ४ करोड ३७ लाख ८७ हजार ५०० डलरको यो ठेक्कामा पाँच वर्ष भित्र २५ लाखवटा इम्बोस्ड नम्बर प्लेट बनाउने सम्झौता भएको थियो । सम्झौताले तीन वर्ष पुरा गरिसकेको छ ।

महानिर्देशक हमालका अनुसार चैत भित्रै इम्बोस्ड नम्बर प्रिन्ट सुरु हुनेछ । हाल चालु अवस्थामा रहेका सवारीसाधनको विवरण कम्प्युटरमा राख्ने तयारी भइरहेको उनले जानकारी दिए ।इम्बोस्ड नम्बर प्लेट जडान गरिएका सवारीमा एक प्रकारको चिप राखिने छ, जसमा सवारीसाधनका बारेमा सबै जानकारी उल्लेख हुनेछ ।

कुन सवारीसाधनलाई कति खर्च ?

विभागले नम्बर प्लेटमा लाग्ने करको दर दुई पाङ्ग्रे, तीन पांग्रे, चार पाङ्ग्रे र ठुला सवारीसाधन गरेर चार भागमा विभाजन गरेर निर्धारण गरेको छ । दुई पाङ्ग्रे सवारीसाधनका लागि २ हजार ५ सय रुपैयाँ, तीन पाङ्ग्रेका लागि २ हजार ९ सय रुपैयाँ, चार पांग्रेका लागि ३ हजार २ सय र ठूला सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ कर निर्धारण गरिएको छ ।