Monday, 20, September, 2021 info@saipalnews.com

घरको जिम्मेवारी महिलाकै काँधमा

अछाम ९ चैत । सदरमुकाम मङ्गलसेन बजारको एक छेउमा रहेको सानो घरको आँगनमा झुप्री विक बञ्चरोले मुढा चिर्दै हुनुहुन्थ्यो । खाना पकाउने दाउरा बाल्न चिर्दै गरेको मुढा पनि उहाँले आफैँ जङ्गलबाट ल्याउनुभएको हो । यो घरमा ३३ वर्षीया विक बूढीसासू आमाको स्याहारको समेत जिम्मेवारी लिएर बस्दै हुनुहुन्छ ।

श्रीमान् रोजगारीको खोजीमा भारत गएपछि घरको सम्पूर्ण काम विकको थाप्लोमा छ । विकले दाउरा बोक्ने, चिर्ने, भारी बोक्ने, बारी खन्ने सबै काम आफैँ गर्छु । घरमा पकाउने, खुवाउने, सरसफाइ गर्ने काम आफ्नै हो आफ्नो दैनिक कामको बेलिविस्तार लगाउनुभयो ।

भारत गएका श्रीमानको कमाइले मात्र घर नधानेपछि कहिलेकाहीँ उहाँ मजदुरी पनि गर्नुहुन्छ । उहाँले आफ्नो बारीको खेतीले खान पुग्दैन । उताबाट पठाए खाने हो । कहिलेकाहीँ पठाउँछन् । उता कति कमाइ हुन्छ थाहा छैन भन्नुभयो ।

अछामकै विरालतोलीकी २५ वर्षीया देवकला नेपालीका पनि श्रीमान् घरमा छैनन् । मजदुरी गर्न उहाँका श्रीमान् तीन वर्षदेखि भारतमा छन् । आधा घण्टाको पैदल दूरीमा रहेको धाराबाट पानी ओसार्नेदेखि खेतीपातीको सम्पूर्ण व्यवस्थापन उहाँकै जिम्मेवारी हो । मेरा तीन सन्तान छन् । उनीहरूलाई खुवाउने पिलाउन साह्रै दुःख छ भनेर दुखेसो पोख्नुभयो । यो खबर अजाको गोरखापत्र दैनिकमा छापिएको छ ।