Saturday, 18, September, 2021 info@saipalnews.com

बाँकेको जमुनाह नाका एक साताका लागि बन्द

काठमाडौँ ९ चैत । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ ।प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको जानकारी दिए । ‘सामानहरु आउँछन् तर यात्रुहरु आउन–जान पाउँदैनन्,’ उनले भने ।प्रजिअ खड्काले अत्यावश्यक सेवामा भने रोक नलगाइने जानकारी दिए ।

भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच आइतबार छलफल भएको थियो । छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का र बहराइचका डिस्ट्रिक मजिस्ट्रेट डीएम सहभागी थिए ।यसअघि दुवै देशका अधिकारीहरुबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।

भारतसँग जोडिएको खुल्ला सिमानाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि त्यहाँ कार्यरत नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन् ।सरकारले कोरोना भाइरसको रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडानलाई रोके पनि भारतसँग जोडिएका सीमानाका बन्द गरेको छैन ।