Thursday, 27, January, 2022 info@saipalnews.com

भारतीय राजदूत र गृहमन्त्री थापाबीच भेटर्वाता

काठमाडौँ ९चैत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

गृहमन्त्री थापाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरुबीच सहकार्यको आवश्यकतामा जोड दिए । यसै सन्दर्भमा नेपाल–भारत सीमाबाट महामारी नफैलियोस भनेर सीमा नियन्त्रणमा दुबै देशको समझदारी र सहकार्यका लागि थापाले राजदूत क्वात्रासँग आग्रह गरे ।

उनले कोरोना भाइरसविरुद्धको लडाइँमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए । राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

कोरोनाको त्रासपछिको अवस्थामा नेपाल–भारत सीमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भइसकेको तथा नेपालको गृहमन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफूहरु तयार रहेको क्वात्राले बताएका छन् ।