Monday, 20, September, 2021 info@saipalnews.com

भारतसँगको सीमा तत्काल बन्द गर्न भीम रावल र पम्फा भुषालको माग

काठमाडौं ९ चैत। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरुले तत्काल भारतसँगको सीमा बन्द गर्न माग गरेका छन् ।संघीय संसदको राज्यका नीति निर्देशक सिद्धान्तको अनुगमन तथा मूल्यांकन निर्देशक समितिको बैठकमा बोल्दै नेकपाका सांसद डाक्टर भीम रावल र पम्फा भुसालले एकतर्फी रुपमा भए पनि भारतीय नाका बन्द गर्नुपर्ने बताएका हुन् ।

‘भारत र नेपालका बीचमा खुला सीमा छ । खेतबाटै आवतजावत हुन्छ । त्यसकारण तत्काल खुला सीमा बन्द गरौं’ आइतबारको समिति बैठकमा सांसद भुसालले सरकारसँग माग गरिन्, ‘निश्चित सीमा तोकेर आवतजावत गर्न दिउँ र आउनेहरुको विशेष निगरानी राख्ने व्यवस्था गरौं ।’

सांसद रावलले भारतले नमाने एकतर्फी रुपमा भए पनि भारतसँगको खुला सीमा बन्द गर्न सरकारलाई सझुाव दिए । ‘खुला सीमा बन्द गर्न नेपालले भारतलाई आग्रह गरेको सुनिएको छ । उसले जवाफ दिएन भनेर हामीले आफ्नो निर्णय नगर्ने ? रावलले प्रश्न गरे, ‘यस्तो हुन सक्दैन ।

सरकारले निर्णय गरोस् ।’ खुला सीमा बन्द नभए भारत हुँदै नेपालमा कोरोनाको महामारी फैलिने उनको चेतावनी छ । ‘ढिलो भयो भने अमेरिकामा र इटलीमा जस्तै ज्यामितीय रुपमा नेपालमा भाइरस फैलिन सक्छ । बेलैमा सरकारको ध्यान जाओस्’ रावलले भने ।

चीनको सहयोग स्वीकार गर

सांसदद्वय भुसाल र रावलले चीनले दिने भनेको सहयोग तत्काल स्वीकार गर्न पनि सरकारलाई आग्रह गरे । ‘चीनले दिने भनेको ल्याइहालौं, जनतालाई उपलब्ध गराइहालौं’ सांसद रावलले भने । चीनले नेपाललाई कोरोबाटबाट सतर्कता अपनाउन मेडिकल उपकरणदेखि चिकित्सक वा के के चाहिन्छ लिस्ट बनाएर दिन नेपाल सरकारलाई भनेको छ । ‘छिमेकीले दिन्छु भन्दा लिन हुन्छ । चीनले दिन्छु भनेको ल्याइहाल्न पर्यो’ सांसद भुसालले समिति बैठकमा भनिन् ।