Wednesday, 19, January, 2022 info@saipalnews.com

काठमाडौं बाहिर पहिलो पटक कोरोना परीक्षण सुरु

काठमाडौँ १६ चैत । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि कोरोना भाइरस कोभिड–१९ को परीक्षण सुरु भएको छ । यो परीक्षण राजधानी बाहिर पहिलोपटक हुन लागेको हो । प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिट अन्तर्गत प्रा।डा।नारायण भट्टराईको नेतृत्वमा कोभिड–१९ संक्रमण भए नभएको यकिन गर्न पीसीआर पोलिमर चेन रियाक्सनपरीक्षण सुरु भएको हो ।

अहिले डा:भट्टराई त्यहाँ भएको ‘जैव सुरक्षा स्तर–२’ को प्रयोगशालामा परीक्षणमा भइरहेको छ ।‘यो परीक्षणको सुरुवात हाल अस्पताल भर्ना भएका तीन बिरामीको घाँटीको र्‍यालको नमुनाबाट परीक्षण गर्न थालिएको छ’, प्रतिष्ठानका इन्टरनल मेडिसिन विभागका प्रमुख प्रा:डा:संजिवकुमार शर्माले भने–‘यहाँ हामीले एउटा लटमा १२ जनाको थ्रोट स्वाव घाँटीको र्‍यालको नमुनाको परीक्षण गर्न सक्छौं ।’

प्रदेश नम्बर १ र २ बाट संकलित नमुनाहरु प्रतिष्ठानमा ल्याइनेछ । यसअघि प्रतिष्ठानमा ८० जना शंकास्पद कोभिड–१९ को बिरामीको परीक्षणका लागि २० वटा घाँटीको र्‍यालको नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।ती नमुना मध्ये १७ जनामा कोरोना देखिएन । तीन ३ वटा नमुना परीक्षणको परिणाम आउन बाँकी रहेको डा:शर्मा बताउँछन् ।

धरानामा कोरोना आशंका भएकाहरुको घाँटीको र्‍यालको संकलन प्रतिष्ठानको माइक्रोबायलोजी विभागले गरिरहेको छ । तर यहाँ भएको पीसीआर मेसिन मा ‘आरएनए एक्सट्रेक्सन’ आफैंले गनुपर्ने भएकाले केही बढी समय लाग्ने चिकित्सकले बताएका छन् ।

समय अलि बढी लागे पनि हामी, पूर्वाञ्चलको कोभिड–१९ प्रयोगशाला परीक्षणको चापलाई थेग्न सक्छौं’, डा।शर्मा भन्छन–‘हामीले धेरै पहिलेदेखि नै पीसीआर परीक्षण गर्दै आएको हो । मुलुकमा डेंगुको ‘सेरोटाइपिङ्ग’, सबै भन्दा पहिले हाम्रै प्रतिष्ठानमा भएको हो ।

स्वास्थ्य मन्त्रालयको अनुसार हाल सम्म मुलुकमा कोरोनाको लागि ८७५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको छ ।पहिलो कोरोना पोजिटिभको केश अन्तर्गत माघ ९ गते नै पोजिटिभ देखिएको र हाल उनी पूर्ण स्वस्थ छन् ।