Monday, 23, May, 2022 info@saipalnews.com

‘लकडाउन’को मौका छोपी,डडेल्धुराका सिडियो खसी पार्टीमा मस्त

डडेल्धुरा १७ चैत । कोरोनाको संभावित जोखिम रोक्नका लागि गत मंगलवार देखि नेपाल सरकारले सिंगो देश लकडाउन गरेको छ । संघीय सरकारले लकडाउनको अवधीमा अत्यावश्यक सेवा बाहेक सबै ठप्प पारिएको छ । तर डडेल्धुरा जिल्लाका संघिय सरकारका प्रतिनिधी प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त भने खसी पार्टीमा व्यस्त छन् ।

शुक्रबार वेलुकी पख देखी कृषि ज्ञानकेन्द्र डडेल्धुरामा जिल्लाका केही अन्य कार्यालय प्रमुख र कृषि ज्ञानकेन्द्रका प्रमुख सहितका कर्मचारीहरुसंग प्रमुख जिल्ला अधिकारी पार्टीमा रहेको स्रोतले जानकारी दिएको छ । सामुहिक रुपमा बस्न नहुने, सबैले सेल्फ क्वारेनटाईनमा वस्नुपर्ने वर्तमान समयमा प्रमुख जिल्ला अधिकारी नै पार्टीमा सहभागी रहनु भएको छ ।

कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउनका लागि जनचेतना मुलक कार्यक्रम संचालन गर्नुका साथै लकडाउनको कडाईका साथ कार्यान्वयन गर्नुपर्ने जिम्मेवारीमा रहेका वेला जिल्लाका प्रशासनिक क्षेत्रका प्रमुखहरु आफ्नो जिम्मेवारी बिर्सिएर पार्टीमा पुगेका छन् ।सा बुन पानीले पटक पटक हात धुन र घर भित्रै बस्न निर्देशन गर्नुपर्ने समयमा प्रशासक नै खसी पार्टीमा व्यस्त भएपछि डडेल्धुरामा लकडाउन समेत फितलो बनेको छ ।

लकडाउनको समयमा विहान वेलुका सडकमै मानिसहरुको आवागमन बढी देखीएको छ । सकेसम्म बाहिर आउन नहुने, अत्यावश्यक कामले बाहिर आउनै परे समुहमा नभई दुरी कायम गरि निस्कनु पर्ने भएपनि प्रमुख जिल्ला अधिकारी आफ्नो गाडीमा, सुरक्षाकर्मी र प्रहरी प्रमुख सहित घुमिरहेका छन् ।

डडेल्धुरामा पुगेदेखी विभिन्न पार्टीमा संलग्न रहदै आएका सहसचिव प्रमुख जिल्ला अधिकारी पन्त जिल्लामा अन्य प्रमुख जिल्ला अधिकारीहरु भन्दा कमजोर प्रशासकका रुपमा रहेको विश्लेषण गर्न थालिएको छ ।

गल्ती छोप्न विभिन्न हतकण्डा अपनाउदै सिडियो

विश्वव्यापी रुपमा फैलिएको कोराना संक्रमण रोक्न प्रशासकीय संयन्त्रहरु कृयाशिल भई काम गर्नुपर्ने समयमा कार्यालयमै भोज भतेर गर्ने डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले आफ्नो गल्ती ढाकछोपका लागि विभिन्न हतकण्डा अपनाई रहेका छन् ।

शुक्रबार कृषि ज्ञानकेन्द्र डडेल्धुराको कार्यालय परिसरमै खसीपार्टी गरि भोजभतेरमा रहेका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले आफु खसी पार्टीमा सहभागी भएको समाचार प्रशारण गर्ने रेडियो र प्रकाशन गर्ने अनलाईनलाई धम्की समेत दिएका छन् ।

सामाजिक संञ्जालमा आएको विषय र समाचारको विषयलाई लिएर प्रमुख जिल्ला अधिकारीले संस्थाको नाममा समाचार खण्डनको पत्र लेखेर कारवाही गर्ने सम्म भनेका छन् । संवेदनशिल समयमा जिम्मेवारी बिर्सिका प्रमुख जिल्ला अधिकारी आफुले गरेको गल्तीको ढाकछोप गर्नका लागि विभिन्न हतकण्डा अपनाइरहेको यसले प्रष्ट पारेको छ ।

कुनै समाचारका विषयमा चित्त नबुझेमा सम्बन्धीत मिडियाको नाममा पत्र तथा प्रेस काउन्सील नेपालको नाममा बोधार्थ दिनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर प्रमुख जिल्ला अधिकारीले भने सम्बन्धीत मिडियामा पत्र नै नदिई समाचार खण्डनको पत्रलाई कानुन विपरित सार्वजनिक गरेका छन् ।

संघीय सरकारका प्रतिनिधीका रुपमा रहने सहसचिव स्तरका प्रमुख जिल्ला अधिकारी पन्तले समाचार प्रकाशन भएको तेस्रो दिनमा आएर मात्रै समाचार खण्डनको नाममा पत्र सार्वजनिक गरेका हुन् । तर सो पत्र समाचार प्रकाशीत गर्ने अधिकारीबाटो नभई समाजिक सञ्जालबाट प्राप्त भएको छ। सो पत्रमा उनले पार्टी नभएको दाबी गरेका छन् । भने नयाँ कुरा हाइअलट बैठक बस्न पनि त्यहाँ सहभागी भएको खुलेका छन् ।

प्रमुख जिल्ला अधिकारी पन्त सहभागी भएको खसीपार्टीबाट विभिन्न व्यक्तिहरुको घरसम्म समेत मासु पुगेको स्रोतको दावी रहेको छ । आम सर्वसाधारणलाई समुहमा नहिड्न र सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरिरहेका प्रजिअबाटै कानुनको उल्लंघन गरि गम्भीर परिस्थितीमा पार्टीको आयोजना गर्नु असोभनीय भएको स्थानिय प्रत्यक्षदर्शी बताउछन् । एक स्थानीयले भने ‘कृषि ज्ञानकेन्द्र भित्र खसी काटियो, प्रमुख जिल्ला अधिकारी पनि सहभागी थिए, कार्यालयको बाहिर रहेको पसलबाट कालो बोतलको मदिरा समेत भित्र लगियो’ ।

तत्तकालीन पशु सेवामा रहेका समान खोज्न प्रमुख जिल्ला अधिकारीको टीम कृषीमा पीपीइ खोज्ने किन गए । जब कि त्यो खोप लगाउने तथा पीपीइ राख्ने तत्कालीन पशु सेवा कार्यालयले हो त्यो छ वा छैन् एक कल फोनमै सोध्दा हुने विषय थियो ।

सामाजिक संघ संस्था तथा व्यक्तिहरु कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि जनचेतना मुलक कार्यक्रम संचालन गरि रहदाँ प्रमुख जिल्ला अधिकारी भने जिल्लामा रहेका स्थानिय तहहरुसंगको समन्वयमा समेत नरहेको स्थानिय तहका प्रमुख हरुको आरोप छ । जिल्ला सदरमुकाममा मात्रै जिम्मेवारी सम्झने प्रमुख जिल्ला अधिकारीले जिल्लाका ग्रामिण क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न नसकेको आम सर्वसाधारणको गुनासो रहेको छ ।

सरकारले गरेको लकडाउनको कडाईका साथ कार्यान्वयन गर्नुपर्ने जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारी स्वयम् गैरजिम्मेवार देखिएपछि सामाजिक संञ्जालमा समेत आलोचना भईरहेको छ । डडेल्धुरा जिल्लामा पहिलो पटक सहसचिव स्तरको प्रमुख जिल्ला अधिकारीका रुपमा भित्रीएका पन्त हालसम्म जिल्लामा आएका अन्य प्रमुख जिल्ला अधिकारीहरु भन्दा कमजोर र फितलो प्रशासकका रुपमा रहेको आम बुझाई छ ।