Thursday, 23, September, 2021 info@saipalnews.com

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३७ हजार नाघ्यो

काठमाडौं १८ चैत। कोरोना भाइरस कोभिड–१९ बाट विश्वभर ज्यान गुमाउने मानिसको संख्या ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार विश्वभर मृत्यु हुने मानिसको संख्या ३७ हजार नाघेको हो ।

ज्यान गुमाउनेमध्ये इटालीमा सबैभन्दा धेरै ११ हजार पाँच सय ९१ जनाको ज्यान गएको छ । त्यस्तै, स्पेनमा सात हजार सात सय १६ जनाले ज्यान गुमाएका छन् । चीनमा पनि मृत्यु हुनेको संख्या तीन हजार तीन सय नौ पुगेको छ भने अमेरिकामा पनि ज्यान गुमाउने तीन हजार ४० पुगेका छन् ।

विश्वभर समग्र संक्रमितको संख्या पनि सात लाख ८५ हजार नाघेको छ । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा संक्रमितको संख्या एक लाख ६४ हजार नाघेको छ । इटालीमा समग्र संक्रमित एक लाख एक हजार नाघेका छन् । त्यस्तै, स्पेनमा समग्र संक्रमितको संख्या ८७ हजार नाघेको छ भने चीनमा ८२ हजारभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ।

भाइरसको संक्रमणबाट निको हुनेमा चीन सबैभन्दा अगाडि छ । अहिलेसम्म चीनमा यो भाइरस संक्रमण पुष्टि भएपछि निको भएर घर फर्किने मानिसको संख्या ७६ हजारभन्दा धेरै छ ।

स्पेनमा करिब १७ हजार मानिस निको भएर घर फर्किएका छन् भने इटालीमा पनि १४ हजारभन्दा धेरै भाइरस संक्रमण पछि निको भएर घर फर्किएका छन् । त्यस्तै, इरान र जर्मनीमा पनि १३ हजारभन्दा धेरै मानिस निको भएर घर फर्किएका छन् ।