Saturday, 18, September, 2021 info@saipalnews.com

स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

काठमाडौं १९ चैत । विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गरिएको छ । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।

त्यस सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगायत धेरै स्वास्थ्य सामग्री ल्याएको थियो ।

तर विना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ । स्वास्थ्य विभागले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरेको छ ।

साथै ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको जनाएको छ । पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ । यस्तै भोलि २ अप्रिलमा दोस्रो खेप सामान आइसक्नुपर्ने हो तर त्यसको सम्भावना देखिँदैन ।

यो कहिले ल्याउने भनेर प्रस्ताव पनि नगरेकाले सम्झौता रद्द गर्ने र ओम्नी समूहलाई कालो सूचीमा राख्न आग्रह गर्ने निर्णय भएको स्वास्थ्य विभागले जनाएको छ ।