Wednesday, 19, January, 2022 info@saipalnews.com

रुपन्देहीका सबै सीमामा हाई अलर्ट

रुपन्देही २३ चैत । सीमावर्ती भारतीय सहरमा कोरोना संक्रमित फेला परेपछि सीमामा उच्च सतर्कता हाई अलर्ट अपनाइएको छ । कोरोना संक्रमणको रोकथामका लागि खुल्ला सीमाका कारण सर्वसाधरणको आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै सीमामा उच्च सतर्कता अपनाइएको हो ।

भारतमा कोरोना संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । आइतबार दिउँसोसम्म भारतमा ३ हजार ३ सय ७८ जना संक्रमित र ७७ जनाको मृत्यु भइसकेको छ ।शनिबार रुपन्देहीको मुख्य सीमानाका बेलहियादेखि २५ किलोमिटर र मर्चवार क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहेको कोल्हुई र पुरन्दपुर क्षेत्रको चार गाउँमा ६ जना संक्रमित फेला परेका थिए । मर्चवार क्षेत्रका सर्वसाधरणका लागि कोल्हुई मुख्य बजार हो ।

मर्चवार क्षेत्रबाट नेपाली र भारतीयको आवगमन हुने गर्दछ । सीमावर्ती क्षेत्रमा संक्रमित फेला परेसँगै जोखिम बढेको छ । यस्तै भारतबाट नेपाल आएका सुदूरपश्चिमका दुईजनामा पनि कोरोना संक्रमण पुष्टि भएपछि सीमामा निगरानी बढाइएको छ ।