Monday, 20, September, 2021 info@saipalnews.com

क्वारेन्टाइन अवधि २१ दिन पुर्‍याइयो

धनगढी २३ चैत । सुदूरमश्चिममा मात्रै कोरोना संक्रमितको संख्या चार पुगेको र संक्रमण जोखिमको दोस्रो चरणमा प्रवेश गरेपछि क्वारेन्टाइन अवधि २१ दिन पुर्‍याइएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार प्रदेशवासीका नाममा सम्बोधन गर्दै हाल १४ दिने क्वारेन्टाइनमा बसिरहेकाहरु अब २१ दिनसम्म बस्नुपर्ने बताए।

सुदूरपश्चिम कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै उनले सम्भावित जोखिमको सामना गर्न प्रदेश सरकार गम्भीरतासाथ तयारीमा जुटिरहेको बताए। ‘कोरोना भाइरसको संक्रमणबाट प्रदेशवासीलाई जोगाउन प्रदेश सरकारका सबै संयन्त्र परिचालित छन्,’ उनले भने, ‘प्रदेश सरकारले कोष खडा गरेर सरकारका तर्फबाट ४० करोड जम्मा गरेको छ।

उनले कोरोनाको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीलाई विषेश अस्पताल घोषणा गर्नुका साथै महाकाली प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयलाई कोरोनाको उपचार व्यवस्थापनका लागि आवश्यक रकम व्यवस्था गरिएको बताए।

भारत लगायतका देशबाट स्वदेश प्रवेश गर्न चाहने नेपाली सीमा क्षेत्रमा अलपत्र परेकोप्रति संघीय सरकारसँग आवश्यक जानकारी गराइएको उनको भनाइ थियो।मुख्यमन्त्री भट्टले अहिले उत्पन्न जटिल अवस्थाका कारण दैनिक ज्यालादारी गरी खाने र असहाय व्यक्तिको जीवनयापनका लागि सरकारले राहत प्याकेज उपलब्ध गराउन पहल गरिएको बताए।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा चार जना कोरोना संक्रमित भेटिएपछि संघीय सरकारले कैलाली कञ्चनपुरमा र्‍यापिड टेस्टको माध्यमबाट रफ्तारमा नमुना परीक्षण सुरु गर्न लागेको मुख्यमन्त्री भट्टले जानकारी दिए। साथै उनले तोकिएको अवधिभर लकडाउनलाई पूर्णरुपमा पालना गर्न प्रदेशवासीसमक्ष अपिल गरेका छन्। कान्तिपुर दैनिकबाट साभार ।