Wednesday, 22, September, 2021 info@saipalnews.com

ओली सरकारको कमजोर ‘मेमोरी पावर’

काठमाडौं २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको बौद्धिक स्रोत के हो ? कसको दिमागले चलिरहेको छ यो सरकार ?यो प्रश्न किन पनि उठाउनैपर्ने भएको छ भने सरकारले एकदमै अपरिपक्व निर्णयहरु गर्न थालेको छ । बिहान एउटा निर्णय गर्छ, दिउँसो अर्कै । दिउँसो एउटा निर्णय गर्छ, राति फेरि अर्कै ।

चैत २५ गते प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्वोधन गर्दा आलोचकहरुलाई दप्काउने हिसाबले भनेका थिए, ‘सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियौं भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ ।’

हो, प्रधानमन्त्रीले ठीकै भनेका हुन्, व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ । तर संस्थागत एवं इन्स्टिच्युसनल मेमोरीका आधारमा चल्नुपर्ने सरकारको स्मृति सामान्य व्यक्तिको भन्दा कमजोर हुन मिल्दैन । तर, प्रश्न प्रधानमन्त्रीमाथि नै उठ्छ कि यो सरकारको वौद्धिक क्षमता किन कमजोर बन्दै गइरहेको छ ?

एकघण्टा परसम्म सोच्न नसक्ने सरकार

विहीबार ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले काठमाडौंबासीलाई शुक्रबार र शनिबार गाउँ र्फकन दिने निर्णय गर्‍यो । तर, सरकार आफ्नो निर्णयमा एकाध घण्टा पनि टिकेन ।यो सरकारसँग स्मरण शक्ति बलियो भएको भए उसले उपत्यकाबाट दुई दिन यातायात खोल्ने निर्णय गर्नुपूर्व विज्ञहरुसँग यसको प्रभावबारे  पक्कै छलफल गर्ने थियो ।

यो निर्णय गर्दा स्वास्थ्य क्षेत्रका विज्ञहरुलाई रेडजोन इलाकामा यातायात खोल्दा के कस्तो समस्या पर्ला भनेर अवश्यै सोध्ने थियो । स्थानीय तह र प्रदेशहरुसँग पनि परामर्श गर्ने थियो । सुरक्षा चुनौतीबारे पनि विश्लेषण गर्ने थियो ।

कमसेकम अरुसँग छलफल गर्ने आवश्यकता महसुस नगरे पनि क्याबिनेटका मन्त्रीहरुसँग त छलफल हुन्थ्यो । कमसेकम, पार्टीका शीर्ष नेताहरुवीच छलफल गथ्र्यो होला सरकारले ।सरकारको दिमागले राम्रोसँग काम गरेको भए विपक्षी दलहरुसँग पनि यसबारे परामर्श गर्नुपथ्र्यो । तर, बालुवाटारको सयनकक्ष  र सिंहदरबारको भिडियो रुपमा खुम्चिँदै गएको सरकारको दिमागले एकघण्टा परसम्म पनि सोच्न सकेन ।

विडम्बना के छ भने उनै प्रधानमन्त्री अरुलाई अर्ति दिँदै भन्छन् ‘सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियाँ भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ ।

’यसै साता सरकारले ओम्नी नाम गरेको नेकपानिकटको कम्पनीलाई चीनबाट औषधिजन्य सामान किन्न दिने निर्णय गर्‍यो । यो निर्णयप्रक्रियामा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल सबैको हिस्सेदारी थियो । तर, वीचैमा बहादुरीपूर्वक सम्झौता खारेज गरियो ।

त्यसपछि औषधि किन्ने जिम्मा जिटुजी मार्फत गर्ने र सेनालाई दिने भनियो । सेनाले इतिहासमै नभएको पत्रकार सम्मेलन गर्‍यो र सरकारले दिएको जिम्मेवारी यथाशिघ्र पूरा गर्ने भन्यो ।तर, अहिले फेरि स्वास्थ्य मन्त्रालयले निजी व्यापारीबाटै सामान किन्ने तयारी थालेको छ । सरकारको वौद्धिक दरिद्रताको यो अर्को शानदार दृष्टान्त हो ।

यसअघि एसईईको परीक्षा रोक्ने विषयमा पनि ओली सरकारले वालापन देखाएकै हो । कमसेकम दुई दिनअघि स्थगनको निर्णय गरिदिएको भए विद्यार्थीहरु हिँडेर सदरमुकामसम्म जाने थिएनन् । पहिले निर्णय गर्न नसक्ने, अनि परीक्षा सुरु हुने पूर्वसन्ध्यामा स्थगनको सूचना आउँदा दुर्गमका विद्यार्थीले पाउनुसम्म दुःख पाए । ओली सरकारको स्मरण शक्ति ‘लामो र बलियो’ भएको भए यस्तो कच्चा काम शायदै हुने थियो ।

किन बारम्बार चिप्लिन्छ ओली सरकार ?

ओली सरकार समयमा निर्णय गर्न नसक्ने, सही निर्णय गर्न नसक्ने र गरेको निर्णयमा अडिन नसक्ने वौद्धिक दरिद्रताको मुख्य कारण सामुहिक निर्णय नहुनु, निर्णयपूर्व सामुहिक छलफल नहुनु । साँघुरो घेराबाट सरकार चलाउन खोज्नु नै हो ।

प्रधानमन्त्री ओलीकै शब्द सापट लिएर भनौं – ‘सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियौं भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ ।’

यो सरकार समग्र नेकपाको बुद्धिमा चलेको छैन, ओली गुटको सानो स्मृतिबाट मात्र चलेको छ । त्यही ओली गुटभित्र पनि अन्तरविरोध छ, सबैको दिमाग एकै ठाउँमा लागेको छैन ।यो सरकारको दिमागी स्रोत भनेको प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सल्लाहकार विष्णु रिमाल र उनीहरुकै वरिपरि रहेको थोरै जनशक्तिमा खुम्चिएको छ ।

जे निर्णय गर्दा पनि सानो समूहबाट निर्णय हुन्छ  । त्यसैले उनीहरुको वौद्धिकताले अहिलेको संकटमा उपयुक्त निकास निकाल्न सक्दैन । सबैको दिमागले चलेको भए बिहान एउटा, बेलुका अर्को निर्णय लिनुपर्ने स्थिति आउने थिएन ।ओली सरकार आफ्नै पार्टीका नेताहरुको सामुहिक बुद्धि अनि विज्ञहरुको विश्लेषणका आधारमा नभई मुठ्ठीभर मानिसहरुको कोटरीबाट चल्न खोज्दा पटक(पटक  दुर्घटनामा पर्न थालेको देखिन्छ ।

यसैवीच, विहीबार नै साझा पार्टीका नेता रवीन्द्र मिश्रले उच्चस्तरीय समितिलाई सर्वदलीय बनाउन माग गरेका छन् । मिश्रले भनेजस्तै ईश्वर पोखरेलको नेतृत्वमा गठित समितिको बौद्धिक क्षमता विस्तार गर्ने हो भने सर्वदलीय वा सर्वपक्षीय संयन्त्र बनाउने र त्यसमार्फत निर्णयहरु लिने हो भने अहिलेको भन्दा परिपक्वता आउन सक्ने देखिन्छ ।

विडम्बना के छ भने यो सरकारले अरु दलको त कुरै छाडौं, आफ्नै पार्टीभित्र पनि ओली गुटको भरमा मात्रै महामारीविरुद्ध लड्न सक्छु भन्ने छोटो बुद्धि यो लिएको देखिन्छ ।

प्रधानमन्त्री ओलीकै शब्द सापट लिएर भनौं – ‘सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियौं भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ ।’

सरकारको बुद्धि बेलैमा आओस् । सरकारले सबैलाई साथमा लिएर अघि बढोस् । महामारीका बेला सरकारलाई सघाउन सबै विपक्षी दलहरु, मिडिया, वौद्धिक समुदाय र नागरिक समाज हातेमालो गर्न तम्तयार भएर बसेका छन् । अनलाइनखबरबाट साभार ।