Thursday, 27, January, 2022 info@saipalnews.com

प्रमुख सेनानीको शव लिन श्री एयरको जहाज सुडान उड्यो

काठमाडौँ २९ चैत । हृदयघातबाट मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी लेफ्टिनेन्ट कर्णेल रिदेश बिष्टको शव लिन श्री एयरलायन्सको जहाज शनिबार बिहान सुडानका लागि उडेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, संयुक्त राष्ट्रसंघको सुडान मिसनमा स्टाफ अफिसरका रुपमा खटिएका बिष्टको शव आइतबार दिउँसो काठमाडौं ल्याइने छ ।कोरोना भाइरसको महामारीका कारण विभिन्न मुलुकले गरेको लकडाउनका कारण यो चार्टर उडानको अनुमति लिन झन्डै दुई साता ढिलाइ भएको हो ।

सुडान पुग्न नेपाल हुदै उड्नुपर्ने मुलुकहरु भारत, पाकिस्तान, मस्कट, साउदी अरब र सुडानका लागि परराष्ट्र मन्त्रालयले ओभर फ्लाइङ रुट अनुमति लिइदिएपछि नेपाली सेनाले निजी वायुयान कम्पनी श्रीको सीआरजे बमबार्डियर विमानलाई चार्टर गरेर पठाएको हो ।

यो चार्टर उडानको खर्च संयुक्त राष्ट्र संघले बेहोर्ने सैनिक प्रवक्ता पाण्डेले कान्तिपुरसँग बताए ।श्रीले आन्तरिक रुटमा उडाउँदै आएको यो सीआरजे विमान काठमाडौंबाट सिधा सुडान उडान गर्ने क्षमताको भने होइन ।

काठमाडौंबाट बिहान पौने ८ बजे उडेको यो विमान मस्कटमा इन्धन भर्न टेक्निकल ल्याण्डिङ गर्ने छ । त्यहाँ त्यहा इन्धन भरेर सुडानस्थित खारथुम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । फर्किँदा पनि मस्कटमा अवतरण गरेर भोलि दिउँसो मात्रै काठमाडौं फर्किने छ ।सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार यूएनको सुडान मिसनमा खटिएका प्रमुख सेनानी रिदेश विष्टको चैत १७ गते हृदयघातका कारण मृत्यु भएको थियो । कान्तिपुर दैनिकबाट साभार ।