Wednesday, 19, January, 2022 info@saipalnews.com

उत्तरी हुम्लामा खाद्य संकट

हुम्ला २९ चैत । दुर्गम उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्य संकट भएको छ । चीनसँग सीमा जोडिएको नाम्खाका विकट गाउँमा खाद्यान्नको अभाव रहेको छ । कोभिड–१९ को महामारीले देशविदेशका सीमानाका बन्द हुँदा स्थानीय तथा बाहिरीरुपमा खाद्यान्नलगायत अन्य काममा पनि संकट चुलिँदै गएको छ ।

उक्त पालिकाको वडा ४ चालागाउँका दोर्जे लामाका अनुसार आधारभूत आवश्यकताका सामग्रीका साथै दैनिक उपभोग्य वस्तु पनि चीनबाट ल्याइने हुँदा लकडाउनको असरले खाद्य संकट भएको छ ।

गाउँपालिकाका तिल, जाङ, चाला, यारी, मुचु, तुम्कोट र अन्य गाउँका बासिन्दा पनि चीनबाट नै कमाई गरी ल्याएको सामग्रीबाट जीविकोपार्जन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् । वर्षौँदेखि चालागाउँलेले चीनको ताक्लाकोटमा गएर आवश्यकताका सामाग्री ल्याउने भए पनि यस वर्ष सीमानाका बन्द हुँदा संकट भएको अर्का बासिन्दा टसि लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ भोट माग्न मात्रै आउँछन्, हामीहरुलाई भोकै छ कि खाएको छ, कसैले सोध्ने गर्दैनन् ।भौलिक विकटताका साथै यस वर्षको अत्यधिक हिमपातले बाटोघाटो आवातजावत गर्न एकातिर कठिनाइ छ भने अर्कािितर लकडाउनले असर पारेको छ ।  करीब ३५ घरधुरी रहेको चालागाउँमा वर्षको एक बाली मात्रै अन्न उत्पादन हुन्छ । सो उत्पादननले चार महिना पनि खाना पुग्दैन ।

यसले गर्दा  कि सदरमुकाम सिमकोटबाट कि त नजीकैको सीमा बजार ताक्लोकोटबाट आठ महिनाका लागि खाद्यान्नको व्यवस्था गर्नुपर्ने बाध्यता छ । अहिले चालागाउँमा गएका स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीलाई पनि खानपिनको व्यवस्था गर्न स्थानीयवासीलाई धौधौ परेको चाला स्वास्थ्यचौकीका इञ्चार्ज गणेश रोकायाले बताउनुभयो ।

सो गाउँमा एकातिर खाद्य संकट देखिएको छ भने अर्कातिर गाउँमा गएका कर्मचारीलाई स्थानीय वातावरण र खानापिनमा बानी पार्न गाह्रो भएको जानकारी प्राप्त भएको छ ।  गाउँमा न त भरपर्दो सञ्चारका सेवासुविधा उपलब्ध छन् न त स्वास्थ्य र शिक्षा । आफूहरुको सेवासुविधामा स्थानीय तहका पदाधिकारीले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् ।