Saturday, 18, September, 2021 info@saipalnews.com

कोरोना संक्रमित बागलुङकी युवतीको तेस्रो परीक्षणमा पनि पोजिटिभ

कास्की ४बैशाख । कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको बिहीबार गरिएको परीक्षणको नतीजा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अर्की संक्रमित १९ वर्षीया युवतीको भने तेस्रो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार गरिएको पिसीआर परीक्षणमा यस्तो नतीजा आएको प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए। ‘बिहीबार गरिएको स्वाब परीक्षणमा युवतीको कोरोना पोजिटिभ र महिलाको नेगेटिभ नतीजा आयो’ शर्माले भने।

कतार एअरवेयजको जहाजमा विदेशबाट आएका दुवैजनामा कोरोना संक्रमण भेटिएको थियो। दुवैको धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार भइरहेको छ। उनीहरुमध्ये युवती चैत १५ र महिला १९ गतेदेखि आइसोलेसनमा छन्। उनीहरुको अवस्था भने सामान्य रहेको र कुनै पनि औषधि दिनु नपरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए। दम र उच्च रक्तचापकी बिरामी भएकाले महिलाले त्यसको औषधि खाइरहेकी छन्।