Wednesday, 22, September, 2021 info@saipalnews.com

पत्रकारलाई सुरक्षाको प्रबन्ध र आर्थिक राहत प्याकेजको व्यवस्था गर्न सरकारलाई प्रेस संगठन अछामको आग्रह

अछाम ६ बैशाख । प्रेस संगठन नेपाल  अछाम शाखाले आज एक विज्ञप्ती जारी गर्दै समाचार संकलनमा खटिने पत्रकारको उचित सुरक्षाको प्रबन्ध गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । समाचार संकलनमा रातदिन नभनि खटिएर एफ एम रेडियो अनलाइनमा र राष्ट्रिय मिडियामा कार्यरत पत्रकारको व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारका निकायलाई प्रेस संगठन नेपाल अछाम शाखाले एक विज्ञप्ती मार्फत जारी गर्दै ध्यानाकरण गराएको हो ।

प्रेस संगठन नेपाल जिल्ला कमिटी अछामका संयोजक नरेन्द्र रावल र सहसंयोजक कृष्ण बहादुर बुढाद्धारा हस्ताक्षरित विज्ञप्तीमा अछाममा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि निरन्तर सक्रिय रुपमा क्रियाशिल स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार तथा आमसञ्चारकर्मीमा उच्च सम्मान प्रकट गर्दै निम्न पारिश्रमिकमा काम गरिरहेका पत्रकारलाई आर्थिक प्याकेजको लागि समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।

सिमित स्रोतसाधन र जनशक्ति भएको हाम्रो देश नेपालमा कोरोना भाइरसलाई आउनै नदिने लकडाउन नै उपाय अवलम्बन गरेर सरकारका कदममा साथ दिन सबैको दायित्व हो जिल्ला कमिटी अछामका संयोजक तथा सहसंयोजकद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

कोरोना भाइरसको महामारीको जोखिमबाट अहिल्यै ढुक्क हुने अवस्था नभएकोले यसलाई फैलन नदिन सामाजिक दुरी कायम गर्न पत्रकार लगायत सबैमा अपिल गर्दै आफु सुरक्षित रहेर कोरोना भाइरसबाट बच्ने र बचाउने उपायकाबारेमा आम नागरिकमा सूचना प्रवाह गर्न समेत प्रेस संगठन नेपाल अछाम शाखाले अनुरोध गरेको छ ।