Sunday, 22, May, 2022 info@saipalnews.com

भोकले मान्छे मर्छ भन्ने हामीलाई पनि थाहा छ : अर्थमन्त्री

काठमाडौं ७ बैशाख । अर्थमन्त्री डा.युवराज खतिवडाले भोकबाट मान्छे मर्छ भन्ने कुरा सरकारलाई पनि थाहा भएको बताएका छन् ।राहतको लाइनमा सबै मान्छेहरु पुगेपछि पाउनुपर्नेले राहत नपाउने र नपाउनुपर्नेले पाउने स्थिति भइरहेको बताउँदै मन्त्री खतिवडाले भने, ‘नागरिकमा पनि यो चेतना चाहिन्छ ।’

चैत महिनाको तलब थाप्नेहरुलाई बजारबाट किनेर खान अर्थमन्त्री खतिवडाले सुझाव दिएका छन् । दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई मात्र राहतको लाइनमा बसिदिन उनको अनुरोध छ ।चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा आइतबार अर्थमन्त्री खतिवडाले भने, ‘रोगबाट मात्रै मान्छे मर्दैन, भोकबाट पनि मान्छे मर्छ भन्ने कुरा सरकारलाई राम्रो थाहा छ । हामीलाई धेरैले सिकाइरहनुभएको  छ, हामीलाई पनि थाहा छ ।’

अर्थमन्त्री डा.खतिवडाको भनाइ उनकै शब्दमा 

संकटको घडीमा सरकारलाई सबैले सहयोग गर्नु भएको छ । व्यवसायीले पनि सहयोग गरेका छन् । यो महामारी हामी सबैको साझा समस्या हो । यो सरकारले ल्याएको समस्या हैन । यो सबै नेपालीका लागि चुनौतीको विषय हो ।खासगरी बजारमा आपूर्ति व्यवस्थामा जुन सहजता छ, त्यसका लागि सबै व्यवसायिक जगतलाई धन्यवाद भन्न चाहन्छु । सुरुका केही दिनहरुमा आपूर्तिका समस्या हुन्छ, मान्छेले खानै पाउँदैन, कालोबजारी हुन्छ, भन्ने जस्ता तर्क गरिन्थ्यो । तर, त्यो तर्क गलत सावित भएको छ । पारदर्शी र जिम्मेवार व्यवसाय गर्ने व्यवसायीको जुन भावना र प्रतिवद्धता छ, त्यो कायम रहोस् ।

लकडाउनको अवधि सकिएपछि छिटोभन्दा छिटो हामी व्यवसायहरुलाई पुरानै अवस्थामा ल्याउने र अझै अघि बढ्ने  तयारी सरकारले गर्दैछ । राहतको कार्यक्रमहरु सार्वजनिक गर्दा हामीलाई के लागेको थियो भने, नेपालले संक्रमणको जोखिम उक्त अवधिभित्र न्युन गरिसक्छ । नेपालभित्र हामीले गर्‍यौं पनि ।

लकडाउन विस्तारै खुकुलो

अहिले विश्वका धेरै मुलुकको संक्रमण फैलिएपछि बलिया भनिएका मुलुकको पनि हालत जुन देखिइराखेको छ, त्यसले हाम्रो प्रयास सार्थक भएको देखिन्छ । यसमा सम्माननीय प्रधानमन्त्रीज्युले अली दूरदर्शी दृष्टिकोणले अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत स्थगित गर्ने र आन्तरिक रुपमा पनि आवागमन बन्द गर्नुपर्छ भनेर मन्त्रिपरिषदमार्फत निर्णय गरेको कारण आज हामी कम जोखिममा छौं ।

तर पनि छिमेकी मुलुकका कारण हुने जोखिमका कायमै छ । त्यसो हुनाले अहिले नै हामी अन्तर्राष्ट्रिय आवागमन खोल्न सक्ने स्थितिमा छैनौं । तर, अहिलेसम्म हामीले गरेका प्रयासहरुले आन्तरिक रुपमा संक्रमण विस्तार हुने सम्भावना नभएकाले केही व्यवसायिक क्षेत्रहरु र केही भौगोलिक क्षेत्रहरुलाई स्वभाविक रुपमा अली खुकुलो बनाउँदै लैजान सकिन्छ होला । त्यसतर्फ हाम्रो प्रयास रहनेछ ।

अहिले विश्वब्यापी रुपमा केही जटिलता छन् । लकडाउन पनि गरौं, मान्छेको जीवन पनि रक्षा गरौं र आर्थिक कृयाकलापलाई पनि जस्तो थियो त्यस्तै गरी चलाउन दिऔं भन्ने कुरा छन् ।  तर, पूर्ण सम्भव चाँही हुन्न । मान्छेको जीवन रक्षा गर्न आवागमन बन्द गर्नुपर्‍यो । त्यसका लागि केही व्यवसाय बन्द गर्नुपर्‍यो । तर, जब हामीलाई जोखिमको मात्रा कम हुँदै जान्छ, त्यो स्थितिमा हामी कुन भौगोलिक क्षेत्र, कुन उत्पादन क्षेत्र खोल्दै जाने हो भनेर क्रमशः गृहकार्य गरिरहेका छौं ।

ट्रेजरी सहज अवस्थामा छैन

राहतका लागि हाम्रो प्रयास कायम छन् । सरकारको क्षमता पनि सीमित छ, त्यो पनि सबैले बुझ्नुपर्छ । मुख्य कुरा अहिले राजस्वको मुख्य स्रोत आयात हो , त्यो खुम्चिएको छ । चैत महिनासम्मको तथ्यांकमै आयात ४ प्रतिशतले घटेको छ । र, हाम्रो राजस्वको वृद्धि लक्ष्यको धेरै तल छ ।

यो अवस्थामा हामीले आन्तरिक स्रोत परिचालित गर्नुछ । व्यवसायीहरुले भएका कोषहरुको परिचालन गरौं, सरकारको ट्रेजरीमा पैसा छ भने त्यसलाई पनि प्रयोग गरौं भन्नुभएको छ । तर, अहिले हाम्रो राजश्वको स्रोत कम भएको र कोरोनाका कारण खर्चको आवश्यकता बढेको कारणले सरकारको आफ्नो ट्रेजरी सहज अवस्थामा छैन ।

र पनि सरकाकरका आफ्ना स्रोतसाधन र संस्थागत संरचना परिचालन गरेर उद्योग धन्दालाई के कस्तो राहत दिन सकिन्छ, त्यो रिन्छ । त्यसमा बैंकिङ प्रणाली, युटिलिटी सेवा, कर, श्रम बजारको माध्यमबाट दिन र गर्न सकिने कुरा होलान्, यो विषयमा सरकारले ध्यान दिँदैछ ।

कोरोनाको कारण परेको असरहरुबारे सरकारले विभिन्न कोणबाट अध्ययन गरिरहेको छ । त्यसमा निजी क्षेत्रलाई पनि समावेश गरेर समस्याहरु र समाधान गर्नुपर्ने कुरामा एक मत भएर जान सक्छौं ।

बैंक वित्तीय संस्थाहरुलाई अहिले धेरै नाफा कमाउने बेला हैन, उनीहरुले नगद प्रवाहलाई सजिलो पार्दिने र कर्जा लिने ग्राहकहरुलाई केही समय सावाँ ब्याज लिने कुरा पर सार्ने र क्रमशः चाँही आफ्नो पुँजी लागतको माध्यमबाट धेरै नाफा नलिई व्यवसायिक उत्थानमा लाग्न भनेको छौं ।

दुईवटा अवसर

अहिले कोरोनाले दुईवटा विषयमा अवसर सिर्जना गरेको छ । ईगभर्नेन्स, ईकमर्स, ईबिजनेसका लागि सुवर्ण अवसर उपलब्ध भएको छ । हामी पनि सरकारी बैठक भिडियो कन्फरेन्सिङ प्रविधिबाट गर्दैछौं । पसलहरुले समान ईकमर्सको माध्यमबाट परिचालन गर्न थालेका छन् ।

अब बैंकिङ र भन्सारका कुराहरु क्रमशः हामी बढीभन्दा बढी इलेक्ट्रोनिक माध्यमबाट गर्ने र अहिले ई(डकुमेन्टका आधारमा भन्सार जाँचपासको व्यवस्था छ । सहज अवस्थामा वास्तविक कागजातहरु दिन सकिने गरी व्यवस्था गर्न भनिएको छ ।

लकडाउन खुल्नासाथै आन्तरिक पर्यटन राम्रो हुन्छ । दोस्रो पिक अप हुने भनेको चीनबाट आउने पर्यटन नै हो । आजै मैले पर्यटनबोर्डका प्रमुखसँग कुरा गर्दा अक्टोबरको सिजनसम्मा चीनबाट आउने पर्यटकका लागि तयारी गर्नुस् र त्यसका लागि हामीले सम्भावनाको ढोका खुला राख्नुपर्छ ।

अनुत्पादक खर्चहरुलाई कम गरौं

हामीले रिकभरीको प्लान बनाइरहेका छौं । बिजनेस रिकभरको प्लान बनाउँदा प्रतिवद्धता भएका लगानी छिटो ल्याउने र नयाँ लगानीलाई छिटो स्वकृति दिने र हाम्रा लगानी भएका आयोजनाका कार्यान्वयनमा तीव्रता दिनेसहित समस्याहरु छिटो भन्दा छिटो समाधान गर्ने स्थिति बनाउने योजना छ ।

केही अनुत्पादक खर्चहरुलाई कम गरौं भनेका छौं । यो भनिरहँदा के चाँही बुझ्नुपर्छ भने आन्तरिक रुपमा सिर्जना भएको वस्तु र सेवा खपत हुन्छ भने ठूलो समस्या हैन । त्यो पार्टी प्याले वा कोटलमै भन्नुस् ।

मुख्य कुरा के हो भने हामीले आफैं उत्पादन गर्दा राम्रो हुन्छ । हाम्रै तरकारी, हाम्रै फलफूल, हाम्रै डेरि प्रोडक्ट र हाम्रौ पेय पदार्थहरु प्रयोग गर्न पायौं पार्टीहरुमा भने त्यसले यहाँ भित्रै आर्थिक गतिविधि बढ्छ । मुख्य समस्या आयातित वस्तुहरुमा हो । त्यसकाकरण हाम्रो नीति नै त्यसअनुसारको सबै कुरा आन्तारिक उत्पादनतर्फ लैजाऔं भन्ने हो ।

कृषि , रोजगारी र  सिप

यो भनेको कृषिमा टुटेको उत्पादन सम्बन्धलाई फेरि जोड्ने हो । त्यो हिजो बाध्यताका कारण टुटेको थियो, मुख्य गरी द्वन्द्वका कारणले । लामो सशस्त्र द्वन्द्वमा धेरै मान्छे गाउँ बस्न सकेनन् । वैदेशिक रोजगारीकै नाममा भएपनि विदेश जानुपर्ने स्थिति भयो ।

तर, शान्ति प्रक्रिया सुरु भइसकेपछि र स्थिति धेरै सहज भइसकेपछि पनि त्यो क्रम रोकिएन । र, एउटा प्रवृत्ति विकास भयो ।तर, अहिले अब एकतिर बाहिर रोजगारीका अवसरहरु खुम्चिँदै जाने, असुरक्षा पनि हुँदै जाने र मुलकुभित्रै गतिविधि गर्न सकिने स्थिति भएकाले यो अवसर हो ।

उहाँहरु बाहरिबाट आउनुभएको छ, सीप नभएकालाई सीपमा जोड्नुपर्छ । सरकारले ती मान्छेहरु जो बाहिर गए वा जान पाएनन्, र यहाँ कुनै खास किसिमका काम सिर्जना भएर त्यहाँ सिपयुक्त जनशक्ति चाहिन्छ भने सिप दिने काम सरकारले गर्छ । रोजगारी दिने काममा त निजी क्षेत्रले नै काम गर्नुपर्छ ।

यो सँगै जोडिएको अर्को एउटा विषय के पनि हो भने हामीले आफ्नै ऊर्जा प्रयोग गरेर हाम्रा आवश्यकता पूरा गर्ने र आयातित ऊर्जाको निर्भरता कम गर्ने । गाडी पनि विद्युतीय प्रयोग गर्ने र भान्सामा चुल्हो पनि विद्युतीय प्रयोग गर्ने गरी प्रोत्साहित गर्ने हो ।हामीले अहिले त्यसकै लागि इन्डक्सनमा भन्सार पनि घटाएका छौं र पेट्रोलियम पदार्थमा अलिकति कर पनि बढायौं । अब हामीले विद्युतीकरण र ग्रामीण विद्युतीकरण अली गतिलो गरी गर्नुछ । हामी त्यसैतर्फ जाँदैछौं ।

भोकबाट मान्छे मर्छ भन्ने  थाहा छ

रोगबाट मात्रै मान्छे मर्दैन, भोकबाट पनि मान्छे मर्छ भन्ने कुरा सरकारलाई राम्रो थाहा छ, हामीलाई धेरैले सिकाइरहनुभएको  छ । हामीलाई पनि थाहा छ, बाँच्नका लागि रोगबाट बचेपछि पनि खानु त पर्छ, त्यो खानकै लागि हामीले आपूर्तिसँग सम्बन्धित सम्पूर्ण संरचना र संयन्त्रलाई यथावत राखेका छौं । खाद्यवस्तुको आयात, ढुवानी, आन्तरिक उत्पादन, प्रशोधन, बाली लगाउने, उठाउने, ढुवानीमा अवरोध नगर्ने नीति छ ।

यो सबै सरकारले किन गरिरहेको छ भने आपूर्तिमा अवरोध नहोस् । त्यसका बाबजुद पनि मान्छेले किनेर खान नसक्ने भए भनेपछि राहतको कार्यक्रम ल्याएका छौं । खासगरी असंगठित क्षेत्रका मजदुरहरुका लागि त्यो लक्षित छ । संगठित क्षेत्रका लागि हामीले चैत महिनाको तलब दिनुस् भनेकै छौं । बजारमा सामान उपलब्ध छन्, किनेर खान पाउनुहुन्छ । तर, जसले दैनिक ज्याला नगरी खान पाउँदैन, उसको लागि राहत हो ।

हामीकहाँ सरकारले दिएको राहत हो, म नागरिक नै हो, मैले कि नपाउने भन्ने प्रश्नहरु आउँछन् । तर, हाम्रो अनुरोध के हो जसलाई त्यो राहत नलिए पनि खान पुग्छ, कृपया तपाईंहरु लाइनमा नलागिदनुस् । जसलाई चाहिन्छ, उसका लागि त्यो राहत सुरक्षित राखिदिनुस् ।

सरकारले संगठित क्षत्रेका लागि पनि सामाजिक सुरक्षा को कार्यक्रम अघि बढाएको छ । उहाँहरुको चैत महिनाको सामाजिक सुरक्षाको योगदान सरकारले नै गरिदिएको छ । योखालको सहयोगमा फेरि पनि विचार गरौंला ।तर, राहतको लाइनमा सबै मान्छे पुगेपछि पाउनुपर्नेले नपाउने र नचाहिनेले लिने स्थिति बन्छ । यो हुनुहँदैन भनेर नागरिकमा पनि त्यो चेतना चाहिन्छ ।