Thursday, 23, September, 2021 info@saipalnews.com

लकडाउनपछि आत्महत्याले भयावह रुप लिने मनोविद्को चेतावनी

काठमाडौँ २० वैशाख । चालिस दिनअघि सरकारले लकडाउनको घोषणा गर्‍यो। लकडाउन अवधिभर सर्वसाधारणलाई अवश्यक काम बाहेक अन्य समयमा घर बाहिर ननिस्कन आग्रह गर्‍यो।सरकारले देशभर लकडाउन घोषणा गर्नुको एक मात्र उद्देश्य विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण नेपालमा फैलन नदिनु नै हो।

लकडाउनको मौका छोपेर उपत्यकामा कतिपय राम्रा कामहरु पनि भइरहेका छन्। यही समयमा उपत्यकामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्याङ्क अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा चैत महिनामा १९ जनाले मात्र आत्महत्या गरेका छन्। यो लकडाउन अघिका महिनाको तुलनामा केही हदसम्म कम हो ।

लकडाउनको सुरुवातदेखि वैशाख १९ गतेसम्मको अवधिमा काठमाडौँमा ११ जना, ललितपुरमा ३ जना, भक्तपुरमा १ जनाले झुण्डिएर आत्महत्या गरेका र काठमाडौँमा १ जना, ललितपुरमा २ जनाले विष सेवन गरेर आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। यस्तै ललितपुरमा एक आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।

चैत महिनाको तथ्याङ्क हेर्ने हो भने लकडाउन सुरु भएपछि आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको प्रहरीले बताएको छ। यस्तै फागुन महिनाको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकाका तीन जिल्लामा २७ आत्महत्या सम्बन्धि घटना दर्ता भएका थिए।चैत महिनामा आत्महत्याका घटनामा कमी देखिनुको मुख्य कारण लकडाउन रहेको प्रहरीले बताएको छ। त्यस्तै लकडाउन हुनु भन्दा पहिला उपत्यकामा दैनिक एक देखि दुई जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

लकडाउनका समयमा परिवारका सदस्यहरु एकै ठाउँमा रहने र घर बाहिर निस्कन नपाइने भएका कारण मानिसहरुमा आत्महत्याको मनसाय उत्पन्न नभएको हुन सक्ने प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए।लकडाउनका कारण आत्महत्या गर्नेहरुको संख्यामा कमी आएपनि लकडाउन खुल्ने बित्तिकै आत्महत्या गर्नेहरुको संख्या बढ्न सक्ने बताउँछन्, लगनखेलस्थित मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा.अनन्त अधिकारी।

उनले भने,‘सुसाइडलाई मेन्टल्ली रुपमा काम गर्ने हामीले मेन्टल रोग हो भन्ने गछौँ । आधिकारिक तथ्याङ्क अनुसार ८० प्रतिशत आत्महत्या कुनै न कुनै मानसिक रोगसँग जोडिएकै हुन्छ। नेपालमा लकडाउन भन्दा अगाडिको तथ्याङ्क हेर्ने हो भने देशभरमा दिनमा १५र१६ जनाले आत्महत्या गर्ने गरेका थिए।’हाललाई कम भएपनि लकडाउन पछि भने नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमा रोजगारी गुमाउने र असहज परिस्थितका कारण आत्महत्याको घटना वृद्धि हुन सक्ने डा.अधिकारीले बताए।

‘यो क्षणिक समयका लागि पोस्टपोन्ड भएको हुन सक्छ, अर्को भने परिवारसँग बसिरहँदा परिवारका अन्य सदस्यले ख्याल राखेका हुन सक्छन्। यो अवधिमा मानिसहरु एक्लै हुन पाएका छैनन्। उनीहरुले झुण्डिनका लागि ठाउँ पाएका छैनन्। औषधि सेवन गर्नका लागि बाहिर निस्केका छैनन्। हाम फाल्नका लागि उचित वातावरण नपाएका हुन सक्छन् किनभने यो समयमा सबै जना परिवारसँग घुलमिल भइरहेका छन्। रमाइलोमा भुलिरहेका छन्।

उनका अनुसार आत्महत्याका लागि सबै भन्दा धेरै झुण्डिने, औषधि खाने, हाम फाल्ने विधी प्रयोग गरिएको पाइन्छ। यो कुराहरु लकडाउनको समयमा अधिक कम भयो। सबै जना परिवारमा बसिरहेका छन्। जसले गर्दा वातावरण ‘होम्ली’ पनि भएको छ। यही कारणले गर्दा आत्महत्या गर्नेहरुको संख्या कम भएको हुन सक्छ।