Thursday, 27, January, 2022 info@saipalnews.com

नेकपाका २० स्थायी कमिटी सदस्य बसे धुम्बाराहीमा बैठक

बैशाख २५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका केही स्थायी कमिटी सदस्यहरू बिहीबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी कमिटी सदस्यहरू धुम्बाराहीमा भेला भएका हुन्।
नेकपाले आज ११ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक बुधबार साँझ दुई अध्यक्षले छलफल गरेर अकस्मात स्थगित गरेपछि उनीहरू आज धुम्बाराहीमा भेला भएका हुन्।
यसअघि वैशाख १० गते भीम रावल, सुरेन्द्र पाण्डे, मातृका यादव, टोपबहादुर रायमाझी, अष्टलक्ष्मी शाक्यलगायत २० जना स्थायी कमिटी सदस्यले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।
वैशाख २० गते बसेको नेकपा सचिवालयको बैठकले स्थायी कमिटी बोलाउने निर्णय गरेको थियो।
स्थायी कमिटी पेस गर्ने एजेन्डा र प्रतिवेदन तयार पार्ने जिम्मा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको थियो।
एजेन्डा र प्रस्ताव पास गर्न बुधबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक बोलाउन अनिच्छुक देखिएपछि बैठक रोकिएको हो।