Wednesday, 19, January, 2022 info@saipalnews.com

डोटीको सेती नदीमा टुकी बालेर सरकार खोजीदै

डोटी १ जेष्ठ ।डोटीको दिपायल स्थित सेती पुलमा दिउसो १२ बजे टुकी बालेर सरकारको खोजी गरिएको छ । “सेती हरायो, सरकार हरायो” भन्ने नाराका साथ बोलन्या थलीले सांकेतिक विरोध जनाउदै ७ सय ५० टुकी बालेर सरकारको खोजी गरेको हो ।राष्ट्रिय गौरवको योजना पश्चिम सेती बनाउँने भनि सरकारले २८ वर्षदेखि दिएको आश्वासन पुरा नभएकोले टुकी बालेर सांकेतिक विरोध गरेको बोलन्या थली संयोजक यादव जोशीले बताए ।

नेताहरुले चुनावी मुद्धाका रुपमा मात्रै पश्चिम सेती योजनालाई प्रयोग गर्ने गरिएको बताउँदै जोशीले हरेक सरकारले पश्चिम सेती बनाउने आश्वासन मात्रै दिने गरेको बताए ।उनले भने,‘सुदूरपश्चिमबाट धेरै जना मन्त्री प्रधानमन्त्री भए तर कसैले पहल गरेन, सरकारमा रहेका नेताहरुले योजनाकाबारेमा रणनीतिक समन्वयकारी भुमिका खेल्न सकेका छैनन् ।

संसदमा यसको विषय नै उठाइएको छैन ।’यसपालिको बजेटमा पनि पश्चिम सेती किन समेटिएन, पश्चिम सेती योजना किन हरायो , सरकार कहा हरायो भन्दै सरकार तथा योजनाको खोजीमा ७ सय ५० टुकी बालेर सरकारको खोजी गरेको जोशीले बताए ।नेपाली कांग्रेस डोटीका सदस्य जीत खड्काले डोटीबाट प्रदेश राजधानी कैलाली सारिएकोमा दुःख ब्यक्त गर्दै अहिलेको दुई तिहाइको सरकारले राजधानी कैलाली सारिए पनि राष्ट्रकै गौरवको योजना पश्चिमसेतीलाई प्राथमिकता दिनु पर्ने बताए ।

उनले भने,‘प्रदेश राजानी कैलाली सारिए पनि पश्चिम सेती योजना बनाउछौं, पर्यटकीय क्षेत्र खप्तड अगाडि बढाउछौं भन्ने सरकारले आउने आर्थिक वर्षको बजेटमा पश्चिम सेती योजना नसमेट्ने भएपछि सुदूरपश्चिमेलीलाई निकै पीडाबोध भएको छ ।’

नेता खड्काले विगत ३० वर्ष देखि सपना बाडिएको पश्चिम सेती योजना अगाडि बढाउन आगामी बजेटमा प्राथमिकताका साथ समेटिनु पर्ने बताउँदै बोलन्या थलीको सरकार खोज्ने कार्यक्रममा कांग्रेसको एकेबद्धता रहेको बताए ।

आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौला ? रिभर्स माइग्रेशनको व्यवस्थापन गरौँ भन्ने नारा सहित संस्थाले यस अघि पनि पश्चिम सेती निर्माणका लागि विभिन्न दबाब मुलक कार्यक्रम गर्दै आएको छ ।

बोलन्या थलिले गरेको दबाबमुलक कार्यक्रममा डोटीका राजनीतिक दल, उद्योग व्यवसायी, विद्यार्थी संगठन, नागरिक समाज लगायतले एकेबद्धता जनाएका थिए । बोलन्या थलीले सुदूरपश्चिमको विकास, समृद्धी लयातका सामाजिक सवालमा आवाज उठाउनुका साथै सामाजिक कार्य गर्दै आएको छ ।

सरकारले पश्चिम सेती आयोजनालाई राष्ट्रिय गौरवको रुपमा प्राथमिकतामा राखे पनि झण्डै २८ वर्षदेखि आयोजनाको काम अगाडि बढ्न सकेको छैन । बझाङ, बैतडी, डडेलधुरा र डोटी मुख्य चार जिल्ला प्रभावित हुने यो आयोजनाबाट वार्षिक २ अर्ब ८० करोड युनिट विद्यत उत्पादन गर्ने अनुमान गरिएको छ । तर आयोजनाको काम नै सुरु नभई पटक पटकका सम्झौता तुहिंदै आएका छन् ।

वीना कुनै उपलब्धी थ्री गर्जेजले ६ वर्ष त्यसै समय खेर फालेको छ । त्यसअघि अष्ट्रेलियाको स्नोइ माउन्टेन इन्जिनियरिङ कर्पोरेशन स्मेकले पनि झण्डै १७ वर्ष अल्झाएको थियो । २०६८ सालमा स्मेकसँगको सम्झौता खारेज गरी चाइना थ्री गर्जेजलाई निर्माणको जिम्मा दिइएको थियो ।

७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनालाई क्षमता घटाएर ५ सय ५० देखि ६ सय २० मेगावाट बनाउनुपर्ने र विद्युत खरिद सम्झौता दर बढाउनुपर्ने थ्री गर्जेजको शर्त छ पछि काम रोकिएको थियो । पछिल्लो समय सरकारले पश्चिम सेतीको कुरै गर्न छोडिसकेको छ ।