Thursday, 27, January, 2022 info@saipalnews.com

मालिकार्जुन गाउँपालिका अध्यक्ष विरूद्ध उपाध्यक्षको उजुरी

दार्चुला ५ जेठ । जिल्लाको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीका बिरुद्ध आर्थिक अनियमितता,ढिला सुस्ती र चरम लापरबाही गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । अध्यक्ष धामी एकपक्षीय ढंगले चलेको आरोप सहित उपाध्यक्ष पुष्पा अवस्थीले जिल्ला प्रशासन कार्यालय दार्चुलामा  उजुरी दिनुभएको छ ।

 प्रशासन कार्यालयले उपाध्यक्ष अवस्थीको उजुरीलाई  १९५७  नम्बररमा दर्ता गरेको छ । उपाध्यक्ष अवस्थीले अध्यक्ष धामीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता , राष्ट्रपतिको भ्रमणको समयमा गरिएको खर्च  बिनियोजन गरिएको रकम भन्दा दोब्बरका बिलहरू बनाएर आर्थिक अनियमितता गरेको आरोप समेत लगाउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको निवेदनमा कोरोना भाइरसको नियन्त्रणकालागि भन्दै करिब ६० लाख भन्दा बढी रकमको खर्च गरेको  बिल पेश भएपनि काम नभएको उल्लेख छ । उपाध्यक्ष अवस्थीले क्वारेन्टाइन निर्माणमा समेत अनियमितता गरेको भन्दै जथाभावि भत्ता लिएको र   लकडाउनका कारण अलपत्रमा रहेका विद्यार्थी, मजदुर,बिपन्न  नागरिकहरूकोलागि घर फर्काउन पहल नगरेको, विदेशमा अलपत्र नागरिकको तथ्यांक समेत संकलन नगरेको भन्दै छानविन गर्न आग्रह गरिएको छ ।

उपाध्यक्ष अवस्थीले अध्यक्ष धामीले आफ्ना नजिकका व्यक्तिलाई राहत वितरण गर्दै राहत वितरणमा  समेत अनियमितता गरेको,  गाउँपालिकाले भाडामा लिएको गाडीको समेत सम्झौता म्याद नसकिँदै  एकपक्षीय ढंगले खारेज गरेर कार्यालयबाट गरिने योजना अनुगमन समेत प्रभावित पारेको जस्ता व्यहोरा सहितको  उजुरीमा उल्लेख गर्नुभएको छ ।

आफ्नो यस उजुरीको बारेमा तिन दिन भित्र छलफलका लागि पहल नगरेमा अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत र लेखापालको कार्यकक्षमा तालाबन्दी गरि सम्बन्धित निकायबाट   छानबिन गराउने कुरो उपाध्यक्ष अवस्थीले उजुरीमा उल्लेख गर्नु भएको छ । अध्यक्ष धामीले नेपाली कांग्रेसबाट चुनाव जितेका थिए भने उपाध्यक्ष अवस्थीले नेकपाबाट चुनाव जितेका थिए ।