Saturday, 18, September, 2021 info@saipalnews.com

चीनबाट सेनाले ल्यायो १९ टन स्वास्थ्य सामग्री

काठमाडौं ६ जेठ। नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८/८४ टन सामग्री नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान स्वास्थ्य सामग्री नेपाल ल्याएको हो ।जंगीअड्डा स्रोतका अनुसार, पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पीपीई,एन ९५ मास्क, ग्लोब्सलगायतका सामान यो चरणमा आएका छन् ।

यसअघि पहिलो चरणमा चीनको ग्वान्झाओबाट २२, २४ र २५ वैशाखमा काठमाडौंका लागि हिँडेको सेनाको कन्टेनरले शनिबार ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याइसकेको छ ।ओम्नी विजनेश कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको सेनालाई दिएको थियो । तर सेनाले पनि लामो समय स्वास्थ्य सामाग्री ल्याउन सकेन ।

जंगीअड्डाले पहिलो चरणमा हवाई मार्गबाट मे ५ तारिखमा ३७ टन स्वास्थ्य सामग्री ल्याउने बताएपनि आएन । भन्सारको प्रक्रिया र चीनमा सरकारी विदाको कारण समयमा सामान ल्याउन नससकेको उसको दाबी थियो ।

सेनाले वैशाख पहिलो साता सरकार–सरकार जीटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि दुई अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता चिनियाँ वाणिज्य मन्त्रालयसँग गरेको थियो । सम्झौताअनुसार ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सेनाले रकम बुझाइसकेको छ भने ग्वान्झाओमा सामग्री जम्मा भइरहेको छ ।