Friday, 28, January, 2022 info@saipalnews.com

बैतडीको क्वारेन्टाइनमा एक महिलाको मृत्यु

बैतडी २० जेष्ठ । पुर्चोडी नगरपालिकामा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं ४ भटना स्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी भटनाकै २२ वर्षीय सुनिता लुहारको आज बिहान मृत्यु भएको हो । मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताउनुभयो ।

मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै स्वदेश फर्किनु भएको थियो । उनि श्रीमान र १८ महिने बच्चासँगै जेठ १८ गतेदेखि क्वारेन्टाइनमा बसेकी थिइन । मृतक भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको भएपनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधि सेवन नगरेको उहाँका श्रीमान हरिश लुहारले बताउनुभयो ।

मृतको लुहारको स्वाब संकलन गर्ने तयारी भइरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।