Thursday, 23, September, 2021 info@saipalnews.com

हङकङ मामिलामा चीनलाई नेपालको साथ

काठमाडौँ २१ जेष्ठ ।चीनले हङकङका लागि अघि सारेको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर विवाद भइरहेको बेलामा नेपालले चीनको पक्षमा बोलेको छ ।नेपालले एक चीन नीतिलाई लिएर दोहोर्‍याउँदै हङकङलाई चीनको अभिन्‍न अंगको रुपमा लिएको जनाएको हो ।चीनले हङकङको लागि जारी गरेको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर नेपालले उक्त प्रतिक्रिया दिएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालद्वारा बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘शान्ति, कानुन र सुव्यवस्थालाई व्यवस्थित रुपमा पालना गराउनु राज्यको एक प्रारम्भिक जिम्मेवारी हो । नेपाल कुनै पनि मुलुकको आन्तरिक सम्बन्धमा हस्तक्षेपमा विश्वास गर्दैन र हङकङमा कानुन र सुव्यवस्था गर्नको लागि चीनले गरेको प्रयासलाई समर्थन गर्दछ ।’केहि पश्‍चिमा मुलुकहरुले भने चीनले हङकङलाई शासन गर्न ल्याएको उक्त कानुनको विरोध गरिरहेका छन् ।