Wednesday, 22, September, 2021 info@saipalnews.com

संविधान संशोधन विधेयकमा संशोधन दर्ता गर्ने ७२ घण्टे समय सुरु

काठमाडौँ २७ जेठ । संविधान संशोधन विधेयकमा सांसदहरुले संशोधन दर्ता गराउने ७२ घण्टे समय सुरु भएको छ। मंगलबार प्रतिनिधिसभाले ‘विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसहमतिले पारित गरेपछि सांसदहरुले संशोधन दर्ता गराउन समय पाएका हुन्।संविधानको अनुसूची ३ मा रहेको निशासन छापमा प्रयोग भएको नेपालको नक्सामा लिम्पियाधुरा, कुटी, गुञ्जीसहितका भूभाग समेट्न सरकारले संविधान संशोधन विधेयक ल्याएको हो।

संघीय संसद सचिवालयले जेठ २० गते गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो। सात दिनको म्याद सोमबार पूरा भएसँगै मंगलबार संशोधन विधेयक अघि बढेको हो।छलफलमा भाग लिँदै सबै दलका सांसदले संशोधन प्रस्तावको समर्थन गरेका छन्। नेपालको अतिक्रमित भू फिर्ता ल्याउने महत्वपूर्ण अवसर भएकाले प्रमुख विपक्षी कांग्रेस, समाजवादी र राजपाका सांसदहरुले संसोधन विधेयकको स्वागत गर्दै समर्थन गर्ने प्रतिबद्धता जनाए।

संशोधन प्रस्ताव पारित हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ।सत्तारुढ सांसद कृष्णभक्त पोखरेलले आफ्नो भूमि समेट्ने गरी नक्सा सम्बन्धी संविधान संशोधन विधेयक ऐतिहासिक रहेको बताए। उनले केही सांसदहरुले लिम्पियाधुरा नेपालको होइन भन्ने अभिव्यक्ति दिएकोमा आपत्ति जनाए।यस्तै सत्तारुढ सांसद गंगा चौधरीले देशको अखण्डता र कानुन विपरीत बोल्नेलाई अपराध संहिताअनुसार कारबाही गर्न माग गरेक थिइन्।

‘हाम्रो भूगोलका निम्ति सुगौली सन्धीलाई खारेज गर्नुपर्छ, ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्नुपर्छ। हाम्रो भूमिमा सम्झौता गर्न सक्दैनौं। सरकारलाई धन्यवाद दिन चाहन्छौं’, उनले भनिन्।यस्तै कांग्रेस सांसद बालकृष्ण खाँडले कांग्रेस संविधान संशोधनको पक्षमा रहेका बताए। ‘हामीले निर्णय गरिसकेका छौँ। कांग्रेस नेतृत्वको सरकारले भारत र चीनबीच सहमति हुँदा विरोध जनाएको थियो। त्यसपछि पनि हामीले निरन्तर यस विषमया नेपालको भूभाग नेपालकै भएको दाबी गर्दै आएका छौँ’, उनले भने।

समाजवादी पार्टीका सांसद राजेन्द्र प्रसाद श्रेष्ठले संसोधन विधेयकको सबैले समर्थन गर्नुपर्ने बताए। उनले भने, ‘आन्तरिक र बाह्य राष्ट्रियता फरक हुन्। नेपालको भौगोलिक अखण्डता, सार्वभौम सत्तामा सम्झौता हुन सक्दैनँ।’

कांग्रेस सांसद पुष्पा भुषालले पनि विधेयकको पूर्ण समर्थन गर्न चाहेको बताइन्। लिम्पियाधुरा नेपालको हो भन्ने सुगौली सन्धिले निर्धारण गरिसकेको उनले बताइन्।राजपाका लक्ष्मणलाल कर्णले आफूहरुको राष्ट्रियतामा शंका नगर्न आग्रह गरे।

‘नेपालको स्वाधिनता प्रति दुई मत छैन। सरकार पक्षबाट हामीलाई होच्याउने काम भयो। म मात्रै राष्ट्रवादी हुँ भन्ने कल्पना नगर्नुहोस्। हाम्रो भूभागलाई सात प्रदेशमा बाँडेका छौं कहाँ कहाँ छ, भन्ने नोटिस गरेको भए हुन्थ्यो। सुगौधी सन्धि समय सापेक्ष गरिएको छ। त्यसपछि पनि सन्धि भएको महाकाली सम्झौता भएको छ। जुन प्रयास भो राम्रो प्रयास भएको छ’, उनले भने।

कांग्रेस सांसद प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धिको पक्षमा मतदान गरेर गरेको गल्ती सच्याउन सुझाव दिए। उनले भातरले अतिक्रमित भूमी फिर्ता ल्याउन प्रधानमन्त्री ओलीले आवश्यय तयारी नगरेको भन्दै आलोचना गरे।

गिरीले भने, ‘प्रधानमन्त्री उखान टुक्का महारथी हुनुहुन्छ। तर उहाँलाई स्यालको शिकर गर्न जाँदा बाघको तयारी गर्नुपर्छ। उहाँले विपक्षी दलका नेता, आफ्नै पार्टीभित्र, मधेसी दलका साथीहरुसँग छलफल गर्नुभएको छैन। दिल्लीसँग कुरा गर्न भ्याउनु भो होला ररु यो कुनै गृहकार्य विना गरिएको चर्चा हो।’

उनले लिम्पियाधुरासहितको भूभाग फिर्ता ल्याउने विषयलाई पपुलिष्ट एजेण्डा नबनाउन आग्रह गरे।त्यस्तै गगन थापाले नेपाली भूमीबाट भारतीय सेना फिर्ता पठाउन पनि संकल्प आवश्यकता औंल्याए। नक्सा संशोधनका लागि सरकारले संविधान संशोधन विधेयक ल्याएकोमा स्वागत गर्दै थापाले सेना फिर्तामा पनि राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गरे।

उनले संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै भने, ‘सेना पनि फिर्ता ठाउँछौं भन्ने संकल्प प्रस्ताव पारित गरौं। सरकारले कुरा मात्र होइन काम पनि गरोस्। सेना पठाउन सजिलो छैन, तर असंभव पनि छैन।’

सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो । निशान छापमा प्रयोग भएको देशको नक्सा नै त्रुटीपूर्ण रहेपछि सरकारले संविधान संशोधन विधेयक जेठ ९ गते दर्ता गरेको थियो।