Saturday, 18, September, 2021 info@saipalnews.com

उत्तरी सीमामा उपस्थिति बढाउँदै सशस्त्र प्रहरी

सुर्खेत ७ असार,। सशस्त्र प्रहरी बलले उत्तरी सीमामा उपस्थिति बढाउँदै लगेको छ । यसअघि संखुवासभाको किमाथांका र मुस्ताङको लामान्थाङमा बोर्डर आउट पोष्ट बीओपी राखेको सशस्त्र प्रहरीले हुम्लाको हिल्सा नाकामा पनि शनिबार बीओपी स्थापना गरेको छ ।

नाम्खा गाउँपालिका– ५, हिल्सामा पहिलोपटक औपचारिक कार्यक्रम गरेर सशस्त्रको बोर्डर आउट पोस्ट बीओपी स्थापना गरेको हो । सशस्त्र प्रहरी बलको सुर्खेतस्थित ६ नम्बर महेश्वरी बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजी प्रजाभक्त श्रेष्ठले बीओपीको औपचारिक उद्घाटन गरेका छन् ।

बीओपीमा सशस्त्र प्रहरी बलको हुम्लास्थित ४४ नम्बर गुल्मका इन्स्पेक्टरको नेतृत्वमा २५ जनाको टोली राखिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए ।यसअघि ११ जेठमा हुम्लाबाट इन्स्पेक्टर मोहन विष्टको नेतृत्वमा २५ जनाको टोली हिल्सा पुगेको थियो । बीओपीले सीमा सुरक्षासँगै आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गर्ने गिरीले बताए ।

अहिले घर भाडामा लिएर बिओपी राखिएको छ । स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्रको टोली भाडाकै घरमा बस्ने डिआइजी श्रेष्ठले बताए । बिओपीका लागि जग्गाको व्यवस्थापन गरेर भवन निर्माण गरिने उनको भनाई छ ।

बिओपी स्थापना गर्न सशस्त्रका डिआइजी श्रेष्ठ, प्रजिअ गिरी लगायतका सुरक्षा निकायका प्रमुखहरू हिल्सा पुगेका थिए । यसअघि हिल्सामा सिमा सुरक्षा पोष्टका रुपमा नेपाल प्रहरीको टोलीले सिमामा सुरक्षा दिँदै आएको थियो ।अब ताप्लेजुङको ओलाङ्चुङगालामा पनि बीओपी राख्ने सशस्त्र प्रहरी मुख्यालयको तयारी छ ।