Wednesday, 22, September, 2021 info@saipalnews.com

 एमसिसीका धेरै प्रावधान नेपालको हितमा छैनन् :डा.भीम रावल

अषाढ ८, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भीम रावलले   सैन्य गठबन्धनमा सहभागी हुने गरी एमसिसीमा हस्ताक्षर गर्न नसकिने बताउनु भएको छ । एमसिसी इन्डो प्यासिफिक रणनीतिको अंग भएकोले यथास्थितीमा पास गर्नु दुर्भाग्यपूर्ण हुने नेता रावलको तर्क रहेको छ ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनु भएका नेता रावलले अमेरिकी विदेश मन्त्रालयका सहायक उपमन्त्री डेभिड जे रेन्ज ले सन् २०१९ को मे १४ मा र सन् २०१९ को फेब्रुअरी १० मा एलिस वेल्सले एमसिसी एशिया प्यासिफिक स्ट्राटेजीकै अंग हो भनेको बताउँदै यस भनाइमा अमेरिकी सरकारसँग नेपाल सरकारले जवाफ माग्नुपर्ने बताउनु भयो ।उहाँले एमसिसीका सम्झौताका केही बुँदा नेपालको स्वाधीनतालाई खतरामा पार्ने दाबी गर्नु भएको छ ।

‘अमेरिकी सहयोग लिन हुँदैन भन्ने मेरो तर्क होइन। अहिले एमसिसी भनेर मरिहत्ते गर्नेहरुले देशको परराष्ट्रनीति नमानेर हाम्रो देशको स्वाधिनता, स्वतन्त्रता र अखण्डतालाई बिर्सिए भने देशको अस्तित्व के होला ?’  नेता रावलले भन्नु भयो , ‘सहयोग लिँदा आफ्नो देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई कायम राख्दै अघि बढ्नुपर्छ।’

‘सरकारले आफ्नो तर्फबाट एमसिसीलाई बौद्धिक सम्पत्तिको अधिकार दिएको छ। त्यस्तो खालको सम्झौतामा अन्तर्राष्ट्रिय कानुनअनुसार हाम्रो राष्ट्रिय कानुन अनुसार कुनै काम भयो भने त्यसबाट प्राप्त हुने प्रोपर्टी राइट्स भन्छ, नेता रावलले एमसिसी सम्झौताको धारा ३ को दफा ३ उल्लेख गर्दै भन्नु भयो, ‘त्यो सम्पत्तिमाथि नेपालले दिनुपर्नेमा नेपालको हक लाग्छ, अमेरिकाले प्राप्त गर्नुपर्नेमा अमेरिकाको हक लाग्छ। तर सम्पूर्ण एकलौटी अमेरिकालाई दिने भनेको के हो?’ रावलको प्रश्न छ ।

धारा ३ को उपधारा ३ बारे स्पष्ट नभई एमसिसी पारित गर्न नहुने  तर्क उहाँले गर्नु भएको छ।  त्यस्तै नेता रावलले धारा ३ को दफा ३ कै ८ (क) मा एमसिसी परियोजना अमेरिकी कम्पनीले नै गर्न पाउने उल्लेख भएको र नेपालको महालेखा परीक्षकले लेखापरीक्षण गर्नुपर्ने उल्लेख नभएको भन्दै आपत्ति जनाउनु भयो ।