Saturday, 18, September, 2021 info@saipalnews.com

प्रहरी चेकपोस्टमा आक्रमण,भीड तितरबितर पार्न ८ राउन्ड हवाई फायर

कास्की ११ असार । आफ्नो वडामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरेको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले बिहीबार प्रहरी चेकपोस्टमा आक्रमण गरेका छन् । उक्त वडाको मजुवामा रहेको सातपत्रे घाटमा शव गाडिएको विरोधमा स्थानीयले कास्की र तनहुँको सीमामा राखिएको अस्थायी प्रहरी चेक पोस्टमा आक्रमण गरेका हुन् ।

आक्रोशित भीडलाई तितरबितर गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ८ राउन्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले चेकपोस्टमा ढुंगामुढा भएपछि हवाई फायर गर्नुपरेको बताए । ढुंगामुढा गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टायर बालेर बाटो छेकेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । झडपमा २ प्रहरी र केही स्थानीय घाइते भएका छन् । तीनवटा मोटरसाइकलमा क्षति भएको छ । घाइतेको अवस्था सामान्य छ । नेपाल प्रहरी र सशस्त्रको टोलीले अवरोध हटाएपछि सेनाले शव व्यवस्थापन गरेको थियो । घाटमा पुग्ने बाटो छेक्ने स्थानीयको टोलीले नै चेकपोस्टमा आक्रमण गरेको एसपी श्रेष्ठले बताए । यसअघि पनि स्थानीयले शववाहनमा शव बोकेर गएका सेना र प्रहरीको टोलीलाई अवरोध पुर्‍याएका थिए ।

स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको थियो ।यसअघि पनि दुई साताअघि कोरोना संक्रमणबाटै निधन भएका स्याङ्जाका एक पुरुषको शव व्यवस्थापन गर्ने क्रममा पोखरा–११ फूलबारी र पोखरा २० भलामका जनप्रतिनिधि र स्थानीयले अवरोध पुर्‍याएका थिए ।