Saturday, 18, September, 2021 info@saipalnews.com

नेपालको नक्साप्रति असहमति जनाउँदै भारतले पठाएको कूटनीतिक नोट

काठमाडौँ २५ असार । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेकोप्रति भारतले औपचारिक कूटनीतिक पत्र पठाएर विरोध जनाएको खुलेको छ । भारत सरकारले नेपाललाई कूटनीतिक नोट पठाएर विरोध जनाएको बारे सरकारले औपचारिक जानकारी दिएको थिएन । भारतले असार १० गते नेपाल सरकारलाई कूटनीतिक नोट पठाएको जानकारी परराष्ट्र मन्त्रालयले राष्ट्रिय सभाको संसदीय समितिलाई जानकारी दिएपछि उक्त कुरा सार्वजनिक भएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबारको बैठकमा भारतले कूटनीतिक नोट पठाएको समिति सभापति रामनारायण बिडारीले जानकारी दिएका हुन् ।भारतले नेपाली भूमिलाई उसको नक्सामा राखेपछि नेपालको परराष्ट्र मन्त्रालयले भारतसँग वार्ताका लागि तीनपटक चिठी लेखेको रहेछ । जसमा भारतले कुनै पनि प्रतिक्रिया नदिएको पाइएको छ, बिडारीले भने, नेपालले नक्सा जारी गरेपछि भने भारतले असार १० गते कूटनीतिक नोट लेखेर विरोध गरेको जानकारी परराष्ट्रले दिएको छ ।

गत नोभेम्बरमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा राखेको थियो । त्यसयता नेपालले पटकपटक सीमाबारे वार्ताका लागि समय तोकेर पत्र पठाएको थियो । तर, भारत सरकारले भने नेपालको पत्रप्रति चासो दिएको थिएन । कुनै प्रतिक्रिया दिएको थिएन ।

लिम्पियाधुरा भएर चीनको तिब्बतस्थित मानसरोवर जाने सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालले विरोध जनाएको थियो । भारतले भने आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गर्दै आएको थियो । त्यतिबेला पनि नेपालले भारतीय राजदूतलाई बोलाएर कूटनीतिक नोट पठाएको थियो । भारतले भने आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गरेको थियो । उसले नेपालका केही कुरा भएमा कोरोना भाइरसको प्रकोप सकिएपछि वार्ता गर्ने भन्दै आएको थियो ।

नेपालसँग वार्ता टार्दै आएको भारतले लिपुलेक भएर सडक निर्माण गरेपछि भने नेपालले नक्सा जारी गरेको थियो । नेपाल सरकारले जेठ ७ गते नक्सा जारी गरेको थियो । नेपालले नक्सा जारी गरेको एक महिनापछि भारतले कूटनीतिक नोट पठाएको हो ।