Thursday, 13, August, 2020 info@saipalnews.com

मध्यपश्चिमाञ्चल र चीनको सिजियाज्वाङ विश्वविद्यालयबीच समझदारी

काठमाडौँ २६ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत नेपाल र हपई अर्थशास्त्र तथा वाणिज्य सिजियाज्वाङ विश्वविद्यालय चीनबीच समझदारी भएको छ । शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्य गर्नका लागि दुई विश्वविद्यालयबीच समझदारी भएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र हपेई अर्थशास्त्र विश्वविद्यालयका तर्फबाट उपकुलपति  प्रा.डा.हे छिछ्याङद्वारा समझदारीपत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उपप्राध्यापक एवं सूचना तथा सञ्चार प्रविधिविज्ञ पञ्चदेव भट्टले जानकारी दिनुभयो ।

उक्त सम्झौता कुनै निश्चित अवधिका लागि मात्र नभई दीर्घकालीन रुपमा लागु हुने  सम्झौतापत्रमा उल्लेख गरिएको छ उपप्राध्यापक भट्टले भन्नुभयो, “यो सहकार्यपछि दुई वटै विश्वविद्यालयबीच साझा चासोका विषयमा सहकार्य गरिनेछ । सोअन्तर्गत दीर्घकालीन तथा समग्र सहयोगको परिधिभित्र रहेर वैज्ञानिक अनुसन्धान, शैक्षिक संस्था सञ्चालन तथा भिजिटिङ स्कलर आदानप्रदान हुनेछ ।

उहाँका अनुसार शैक्षिक पठनपाठन सुधार तथा सिकाइका लागि उपयुक्त प्राध्यापकसमेत विश्वविद्यालयबीच आदानप्रदान हुनेछन् भने भविष्यमा विश्वविद्यालयअन्तर्गत रहेका विभाग तथा स्कूलबीच समेत नजीकबाट सहकार्य हुनेछ । यो समझदारीपछि दुवै विश्वविद्यालयले आफ्ना विद्यार्थी सम्बन्धित विषयअन्तर्गत रहेर साटफेर गरी पढ्न सक्नेछन् ।

यसले गर्दा उनीहरुको सिकाइ सुधार तथा अन्तरराष्ट्रिय शिक्षामा समेत पहुँच पुग्ने  उहाँले बताउनुभयो । सन् १९५३ मा चीनको हपेई प्रान्तमा स्थापना भएको हपेई अर्थशास्त्र विश्वविद्यालयमा अर्थशास्त्र, व्यवस्थापन र  कानून मुख्य विधा हुन् भने कला र विज्ञान तथा प्रविधि विशेष अध्ययनअध्यापनका क्षेत्र हुन् । यो सहकार्यपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने अपेक्षा गरिएको छ ।