Wednesday, 22, September, 2021 info@saipalnews.com

खोलाले बगाएर तीन जनाको मृत्यु

बुटवल २८ असार । भारी वर्षासंगै बढेको खोलाले बगाएर अर्घाखाँची, प्युठान र दाङमा एक–एकजना गरी तीन जनाको मृत्यु भएको छ । अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ बेलाउतेस्थित राप्ती नदी तर्ने क्रममा प्युठान मल्लरानी गाउँपालिका ५ खैरा बस्ने बर्ष २७ को दीपक रोकालाई खोलाले बगाएर मृत्यु भएको हो ।उनको शब आइतबार दिउँसो दाङको सिसनियाको बगरमा फेला परेको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

यस्तै प्युठानको मल्लरानी गाउँपालिका ५ बेलडाडाका २७ वर्षका दीपक थापा झिमरुक खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएकामा आइतबार दिउँसो दाङको गढवा गाउँपालिका २ महदेवामा राप्ती नदीको पक्कीपुल मुनि शब फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका १२ कचिलाका ६५ वर्षका कालिचरण चौधरीलाई बबई नदीले बगाउँदा मृत्यु भएको र आइतबार शव फेला परेको प्रवक्ता बैदवारले जानकारी दिए ।

नवलपरासीमा पानीमा डुबेर बालकको मृत्यु

यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका ४ नर्सहीका अलाउद्दिन अन्सारीका ९ वर्षका छोराको घर नजिकै पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।पानीमा डुबेका बालकको उपचारको क्रममा शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा आइतबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीले जनाएको छ ।

करेन्ट लागेर मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका ९ बेलवामा सल्यान कपुरकोट गाउँपालिका– ५ रिमका बर्ष २६ का कमल खत्रीको पानी तान्ने मोटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ लैजाने क्रममा बाटोमै आइतबार ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्लम्बर काम गर्ने उनी तुलसीपुर– ५ मा बस्दै आएका थिए ।

चार जनाको शव भेटियो

प्यूठानको ऐरावती गाउँपालिका ५ पकलास्थित झिमरुक खोलाको बगरमा नाम थर ठेगाना नखुलेकी अन्दाजी ३५–४० बर्षकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै बाँकेको कोहलपुर नगरपालिका ७ लखनावार मितेरी बन कार्यालयको पुर्बपट्टि डुडुवा खोला किनारमा अन्दाजी २८ वर्षकोे पुरुषको शव फेला परेको र शवको सनाखत हुन नसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै रोल्पाको परिवर्तन गाउपालिका ५ गरमझ्याम खोलामा रोल्पा थवाङ गाउँपालिका ३ सैपु कि ५४ वर्षकी बरमती बुढामगरको शब आइतबार फेला परेको प्रहरीले जनाएको छ । असार २४ गते बिहान घरदेखि हिँडेकी बरमतीको शव आइतबार फेला परेको हो । यस्तै नवलपरासीको प्रतापपुर गाउँपालिका २ सोनबर्षास्थित खजुरा खोलाको पुलमुनि पानीमा अन्दाजी एक वर्षको बच्चा मृत अवस्थामा फेला परेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।