Wednesday, 22, September, 2021 info@saipalnews.com

धनगढीमा सडक निर्माणका लागि सम्झौता

कैलाली २८ असार । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिका क्षेत्रमा सडक निर्माणका लागि आयोजना कार्यालय र निर्माण कम्पनीबीच आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख परिक्षित कँडरिया र निर्माण कम्पनी कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाशचन्द्र खरेलले आज सडक निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।

सम्झौतापत्रमा निर्माण कम्पनीले निर्माणको काम २१ दिनभित्रै शुरु गर्ने र दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ । एशियाली विकास बैंकको सहयोगमा सञ्चालनमा रहेको शहरी विकास आयोजनाअन्तर्गत पहिलो चरणमा धनगढी उपमहानगरपालिका क्षेत्रमा सात वटा सडक निर्माण हुने जनाइएको छ ।

पहिलो चरणमा दुई हजार सात मिटर लामो गुल्म–चर्च रोड, एक हजार ३८० मिटर लामो धनगढीको ट्राफिक चौराहादेखि–कैलाली नाला सडक, ७०० मिटर लामो हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल सडक, तीन हजार ६५० मिटर लामो क्याम्पस रोड–चटकपुर सडक, ८७० मिटर लामो धनगढी–खुटिया स्याउले रोड, ४३० मिटर लामो मालपोत रोड र एक हजार १५० मिटर लामो हसनपुर रोड निर्माण तथा स्तरोन्नति गर्न लागिएको जनाइएको छ ।

निर्माण कम्पनीसँग सम्झौता भएर सडक निर्माणको चरणमा प्रवेश गरिएको नगरप्रमुख नृपबहादुर वडले बताउनुभयो । “यो धनगढीका बासिन्दाको विकासको सपना बोकेको आयोजना हो”, प्रमुख वडले भन्नुभयो । सम्झौता भएपछि सबै काम समयमा सम्पन्न हुनेमा विश्वस्त रहेको आयोजना कार्यालयका प्रमुख कँडरियाले बताउनुभयो  ।

यसअघि उक्त आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक निर्माण र स्तरोन्नतिका लागि सन् २०१५ मा रु एक अर्ब ३५ करोड छुट्याइएको थियो । विविध कारणले समयमै उक्त आयोजनाको काम अघि बढ्न सकेको थिएन । यस बजेटबाट अहिले काम गर्दा साढे १० किमी सडक निर्माण हुनसक्ने जनाइएको छ । पहिलो चरणको कामको ठेक्का कालिका कन्ट्रक्सनले रु ६८ करोड पाँच लाख ९८ हजार ७०४ मा पाएको छ ।

सम्मान गर्ने योजना  

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गतको सडक निर्माण कार्यमा सहयोग पु¥याउने घरधनीलाई उपमहानगरपालिकाले सम्मान गर्ने भएको छ । उपमहानगरपालिकाका प्रमुख वडले आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएर सहयोग गर्न नगरवासीलाई आग्रह गर्दै आफ्नो संरचना आफैँ हटाउनेलाई उपमहानगरपालिकाले सम्मान गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

वडले भन्नुभयो, “यस्ता घरधनीको नक्सा दर्तामा छुटका साथै भत्काइने संरचनाको बाँकी रहने संरचनाको अगाडिको भागमा रङ्गरोगनसमेत उपमहानगरले गरिदिनेछ ।” आयोजना निर्माण गर्ने सडक क्षेत्रको कतिपय ठाउँमा निजी संरचना रहेका छन् ।