Wednesday, 22, September, 2021 info@saipalnews.com

भान्जाको हत्या गर्ने मामा १३ बर्षपछि पक्राउ

काठमाडौं ४ साउन । भान्जाको अपहरणपछि हत्या गर्ने एक पुरुषलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । आफ्नै ११ वर्षीय भान्जाको हत्या गरी फरार रहेका ४५ वर्षीय राजेश कुमार गुप्तालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सर्लाहीबाट पक्राउ गरेको हो ।

भारतको बिहार स्थायी घर भइ हाल काठमाडौं खिचाँपोखरी बस्ने वासुदेव गुप्ताका ११ वर्षीय छोरा रोहित गुप्ताको २०६४ असोज २४ गते अपहरणपछि हत्या भएको थियो । अपहरणपछि दुई लाख फिरौति रकम समेत मागिएको थियो । फिरौति रकम बुझाउन राजेश नै गएका थिए । उनले अपरिचित व्यक्तिहरु आएर रकम लगेको बताएका थिए । शुरुमा अपराधीको खोजतलासी गर्न समेत सघाएका राजेश केही समयपछि भने फरार भएका थिए ।

अनुसन्धानका क्रममा राजेश र उनकै पसलमा काम गर्ने विष्णु सुनारले बालकको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । विष्णु सुनार २०६४ कार्तिक १२ गते नै पक्राउ परेको र हाल उनी कारागारमा रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका राजेशको कारबाही प्रकृया अघि बढाइएको अपराध महाशाखाले जनाएको छ ।