Monday, 20, September, 2021 info@saipalnews.com

पहिरोले थुनियो नारायणगढ–मुग्लिन सडक

चितवन ५ साउन । नारायणगढ–मुग्लिन सडकको चारकिलो, कालीखोलामा सोमबार बिहानै पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ । संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक बिहान ४ बजेतिर पहिरो गएर थुनिएको हो । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चारकिलो, कालीखोलामा सोमबार बिहान खसेको पहिरो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो ठूलो भएकाले सोमबार दिनभरजसो नै सडक अवरुद्ध हुने सम्भावना रहेको बताए । उनले तत्कालका लागि यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् । यो सडकमा दैनिक १० हजारसम्म गाडी गुड्छन् ।नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार बिहान ४ बजेतिर पहिरो गएको हो । अझै पनि झरी र पहिरो नथामिएकाले सडक खुलाउन सुरु भइसकेको छैन ।

‘पहिरो हटाउने औजार–उपकरण तयारी अवस्थामा छन् । तर काम सुरु गर्न गाह्रो छ । बाटो खुल्नेबारे यसै भन्न सक्ने अवस्था रहेन,’ इन्जिनियर खनालले भने ।मुग्लिनबाट चार किलो मिटर पश्चिम नारायणगढतर्फ कालीखोलामा असार ३ गते पनि पहिरो खसेको थियो । त्यो बेला पहिरो हटाएर दुईतर्फी गाडी चलाउन ६३ घण्टा लागेको थियो । अहिलेको पहिरो त्योभन्दा पनि ठूलो रहेको सूचना अधिकारी खनालले बताए ।

नारायणगढ–मुग्लिन सडकलाई दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा पहिरो जाने गरेको छ । कालीखोलामा पहिरो नियन्त्रणको काम अझै पूरा भएको छैन ।