Thursday, 13, August, 2020 info@saipalnews.com

विपद्धमा परदेशिएकाको साथ,दोलखाली समाज दक्षिण कोरियाबाट स्वास्थ्य सामग्री सहयोग

दोलखा ५ साउन। रोजगारीको क्रममा दक्षिण कोरियामा बसोबास गर्दै आएका दोलखालीहरुले आफ्नो जिल्लाका लागि भिटिएम सहित ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना भाइरसको जोखिम न्यूनिकरण तथा कोरोना परिक्षणका लागि आवश्यक पर्ने ३ लाख ६२ हजार बराबरको स्वास्थ्य सामग्री दोलखाली समाज दक्षिण कोरियाले दोलखाका प्रमुख जिल्ला अधिकारी एव जिल्ला विपद् व्यवस्थापन समिति संयोजक भिमकान्त शर्मालाई हस्तान्तरण गरेको हो ।दक्षिण कोरियामा रहेका दोलखालीहरुले आफ्नो आम्दानीको केहि रकम संकलन गरेर दोलखाली समाज दक्षिण कोरियाको अगुवाईमा खरिद गरेर पठाइएको स्वास्थ्य सामाग्रि हस्तान्तरण गरिएको पत्रकार लक्ष्मण खड्काले जानकारी दिए । स्वाब संकलनका लागि आवश्यक भिटिएम अभावका कारण नेपालमा कोरोना परिक्षणको दर घटिरहेका बेला दक्षिण कोरियामा रहेका दोलखालीले १२ सय थान भिटिएम सहितका स्वास्थ्य सामाग्रि सहयोग स्वरुप पठाएका छन् ।कोरियावाट १२ सय थान भिटिएमसहित एक हजार थान सर्जिकल मास्क, २० थान पिपिई सेट, २ सय थान केएन ९५ मास्क, ५० थान लङ ग्लोब्स र १० प्याकेट ग्लोब बक्स पठाएको पत्रकार खड्काले जानकारी दिए ।सहयोग स्वरुप आएको स्वास्थ्य सामाग्रीले कोरोना भाइरस रोकथामका लागि अग्र मोर्चामा खटिने स्वास्थ्यकर्मी, क्वारेन्टाइनमा बसेर परिक्षण गराउनुपर्ने व्यक्तिको जाँच तथा उपचारमा सहयोग पुग्ने प्रजिअ शर्माले बताए ।दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सुजन शर्मा ढुंगेल, महासचिव दिलिप दाहाल लगायतको पहलमा सहयोग संकल गरेर स्वास्थ्य सामाग्री स्वदेश पठाइएको थियो ।