Thursday, 13, August, 2020 info@saipalnews.com

ओहोदाको प्रमाणपत्र पेश

पोर्चुगल ६ साउन । गैरआवासीय राजदूत दीपक अधिकारीले गणतन्त्र पोर्चुगलका राष्ट्रपति मारसेलो रेवेलु द सोजा समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । नेपाली दूतावास पेरिसका अनुसारका राजदूत अधिकारीले सोमबार लिस्वनस्थित बेलेम प्यालेसमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

सो अवसरमा राजदूत अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीले पोर्चुगलका राष्ट्रपतिलाई उहाँको व्यक्तिगत सुस्वास्थ्यका साथै पोर्चुगलका जनताको प्रगति र समृद्धिका लागि कामना गर्नुभएको सन्देश सुनाउनु भएको छ । पोर्चुगलका राष्ट्रपति रवेलु द सोजाले पनि राष्ट्रपति भण्डारीको सुस्वास्थ र प्रगतिको कामना गर्नुहुँदै नेपाल र नेपाली जनताको निरन्तर प्रगतिका लागि आफ्नो शुभकामना रहेको बताउनुभएको नेपाली दूतावास पेरिसले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण ओहोदाको प्रमाणपत्र पेश गर्ने समारोहमा पनि फेस मास्क लगाउनेलगायत सम्पूर्ण स्वास्थ्यसम्बन्धी नियमको पालना गरिएको नेपाली दूतावासले जनाएको छ । राजदूत अधिकारी फ्रान्सका लागि आवासीय राजदूत हुनुहुन्छ ।