Thursday, 27, January, 2022 info@saipalnews.com

पत्रकार जोशीको गोली हानी हत्या

काठमाडौं ७ साउन ।  गुन्डाहरुको गोली प्रहारबाट घाइते उत्तरप्रदेश ९यूपी० को गाजियाबादका स्थानीय पत्रकार विक्रम जोशीको बुधबार निधन भएको छ । सोमबार राति आफ्ना दुई छोरीसँगै मोटरसाइकलमा गइरहेका जोशीमाथि स्थानीय गुन्डाहरुले आक्रमण गरेका थिए । त्यसलगत्तै उनको टाउकोमा गोली प्रहार गरिएको थियो । घटनालाई लिएर स्थानीय प्रहरी र योगी आदित्यनाथ नेतृत्वको उत्तरप्रदेश सरकारको चर्को आलोचना भएको छ ।

आक्रमणमा घाइते जोशीको स्थानीय यशोधा अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो । घटनामा संलग्न ९ आरोपितमध्ये ८ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । एक जना फरार रहेको स्थानीय प्रहरीलाई उद्धत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जोशी गाजियाबादकै एउटा स्थानीय हिन्दी पत्रिकामा काम गर्थे ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटनाका पछाडि जोशीले घटनाको चार दिनअघि दिएको उजुरी प्रमुख कारण रहेको छ । आरोपितहरुविरुद्ध घटनाको चार दिन आफ्नी भान्जीलाई दुर्व्यवहार गरेको भन्दै पत्रकार जोशीले स्थानीय प्रहरी चौकीमा उजुरी दायर गरेका थिए । तर, प्रहरीले उनीहरुलाई समयमै पक्राउ नगरेका कारण त्यसको बदला लिनका लागि जोशीलाई गोली हानेको उनको परिवारको दाबी छ ।

स्थानीय प्रहरीले घटनास्थलको सीसीटीभी फुटेज पनि बाहिर ल्याएको छ । जसमा गुन्डाहरुले पहिले जोशी चढेको मोटरसाइकललाई लडाउँछन् र उनीमाथि आक्रमण गर्न थाल्छन् । जोशीमाथि आक्रमण सुरु भएपछि छोरीहरु भने भाग्छन् । त्यसपछि उनीहरुले जोशीलाई छेउमा रहेको एउटा कारमा आड लगाएर गोली प्रहार गर्दै भागेको देखिन्छ । जोशी गोली लागेपछि भुइँमा ढलेका फुटेजमा देखिन्छ । त्यसपछि उनकी एउटी छोरी उनी नजिक गएर रुँदै सहयोगका लागि गुहार मागिरहेको फुटेजमा देखिन्छ